नेकपा एमालेलाई २०७५ जेठ २ अर्थात् नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिकै संरचनामा फर्काउने गरी प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी रहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यस्तो हुन नसक्ने संकेत गरेका छन्।
ओली र नेपालबीच तेस्रोपटक वार्ता हुने दिन आज जेठ २ कै सन्दर्भ पारेर ओलीका प्रिय थापाले २०७५ जेठ २ मा फर्किनु प्रतिगमन पो हो भनेर टिप्पणी गरेका हुन्।
थापा ओलीका निकै नजिकका नेता भएकाले उनले यो व्यंग्यात्मक रूपमा भनेको हुन सक्ने भए पनि एमालेलाई पूर्ववत् अवस्थामै फर्काउनुपर्ने नेपाल पक्षको माग पूरा हुन नसक्ने संकेत मान्न सकिन्छ।
‘२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्राप्त सुझाव– पछाडि फर्किनु त प्रतिगमन हुन्छ !! नो वे !!!’

विश्वासको मतमा पराजित भएपछि आफूलाई पुनः सत्तामा आउन नदिन भनेर सामूहिक राजीनामा दिन ठिक्क परेका भनिएका नेपाल पक्षका सांसदलाई प्रधानमन्त्री ओलीले बहुमतको सरकार बनाउन विपक्षी दललाई प्राप्त समयसीमाको अन्तिम दिन यही वैशाख ३० गते फकाउन सफल भएका थिए। जसले गर्दा विपक्षी दल बहुमत जुटाउन असफल भए भने अन्ततः संसदको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा फेरि ओली नै प्रधानमन्त्री भए। नत्र नेपाल पक्षका २८ सांसदले सामूहिक राजीनामा दिएर संसदको कूल सदस्य संख्या घटाउने र विपक्षीसँग भएकै मतले बहुमत पुर्याउने तयारी भइरहेको थियो।
तर ओलीले त्यस दिन बिहान स्थायी कमिटी बैठक राखेर माधव नेपालसहित उनी पक्षका ४ नेतालाई गरिएको कारबाही एकाएक फिर्ता गरे र नेता नेपालसँग वार्ता पनि गरे। वार्ता सकारात्मक भएको भन्दै नेता नेपालले सांसदको सामूहिक राजीनामा रोक्ने निर्णय गरेका हुन्। त्यसपछि पुनः शुक्रबार साँझ दोस्रोपटक दोस्रो तहका नेतासमेत सहभागी भई दुई पक्षबीच भएको वार्तामा एमालेलाई २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्काउने सहमति भएको र त्यसका प्रक्रिया पूरा गर्न कार्यदल बनाउने जिम्मेवारी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिने निर्णय भएको बताइयो।
त्यसपछि आज पुनः ओली र नेपालबीच प्रधानमन्त्रीको कार्यालय (सिंहदरबार) मा वार्ता भइरहेको छ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको भए पनि ऋषि कट्टेलले यसभन्दा अघि नै निर्वाचनमा आयोगमा आफूले नेकपा नामको दर्ता गरिसकेकाले त्यसैले वैधानिकता पाउनुपर्ने माग गर्दै २ वर्षअघि हालेको मुद्दामा गत फागुन २३ गते सर्वाेच्च अदालतले उनकै पक्षमा फैसला गरेको हो। पछि बनेको नेकपा अवैधानिक ठहर गर्दै यसमा मिसिएका पहिलेकै दुई पार्टी अस्तित्वमा रहेको फैसला भएपछि एमाले पुनःस्थापना भएको हो।
तर अध्यक्ष ओलीले फैसलाको ५ दिनपछि फागुन २८ गते आफ्ना निकट केन्द्रीय सदस्यको मात्रै बैठक राखेर पार्टीको केन्द्रीय कमिटीसहित जिम्मेवारी फेरबदलको निर्णय गरे। अबदेखि पार्टीमा अध्यक्ष र महासचिवबाहेक अन्य पद सदस्य मात्रै हुने निर्णय गर्दै नेकपा हुँदा प्रचण्डसँग मिलेर आफ्नो विरोध गरेका झलनाथ–माधव नेपालसहित उनीहरू पक्षका सबै नेतालाई पार्टीमा जिम्मेवारीविहीन बनाए। साथै ओलीले माओवादी केन्द्र त्यागेर आफ्नो समूहमा सामेल भएका गृहमन्त्री थापासहित २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका छन्।
ती सबै निर्णय खारेज हुनुपर्ने र अदालतको फैसलाबमोजिम एमालेलाई पुरानै अर्थात् २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्काउनुपर्ने माग नेपाल पक्षको छ। यसकै सेरोफेरोमा सहमति खोज्ने चर्चा भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाबाट नकारात्मक अभिव्यक्ति आएको हो।

प्रतिक्रिया