ad ad

राजनीति


शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न नमानेपछि...(भिडिओ)

शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न नमानेपछि...(भिडिओ)

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १२:४१,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको शपथ ग्रहण गरे।

राष्ट्रपतिनिवास शीतलनिवासमा भएको शपथग्रहण बेलाबखत ठट्यौली गरिरहने ओलीकै कारण रोचक दृश्य देखियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएका केही शब्द उच्चारण गर्न मानेनन्।

राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै ‘....सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु ....’ भन्ने वाक्य पढिरहँदा ओलीले ‘..त्यो पर्दैन...’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ दोहोर्‍याउन मानेनन्।

यही भिडिओ फुटेज अहिले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। 

यस्तो थियो श्रव्यदृश्य फुटेज
‘म केपी शर्मा ओली। मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्वक’ भन्ने शब्द उच्चारण गरेका ओली त्यसपछि केही सेकेण्ड रोकिए।

अनि फेरि राष्ट्रपतिले ‘प्रतिज्ञा गर्दछु कि’ भन्ने शब्द उच्चारण गर्न दोहोर्‍याइन्।

तर, ओलीले यसपटक भने ‘त्यो पर्दैन’ भन्ने जवाफ दिए। अनि राष्ट्रपति हाँसेको सुनिन्छ र शपथका बाँकी शब्द उच्चारण गर्न लाग्छिन्।

प्रधानमन्त्रीका रुपमा तेस्रोपटक शपथ खाएका ओलीले किन मानेनन् ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न?

त्यसो त गणतन्त्र आएयता पटक पटक प्रधानमन्त्री बनेका कम्युनिस्ट नेताहरुले शपथमा समावेश हुने ‘ईश्वर, देश र जनता’को साटो ‘देश र जनता’ शब्द मात्रै उच्चारण गर्दै आएका छन्। ओलीले पनि त्यही गरे।

तर ओली त्यस्ता नेता हुन् जसले केही दिनअघि मात्रै चितवनको ठोरीमा भगवान् राम जन्मिएको भन्दै त्यहाँ रामसीताको मन्दिर स्थापना गर्ने अभियान नै अघि बढाइरहेका छन्।

उनीमात्र होइनन्, शपथमा ‘ईश्वर’ शब्द दोहोर्‍याउन हिच्किचाउने पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालहरु पनि ईश्वरकै लागि हुने धार्मिक क्रियाकलाप र पूजापाठमा सक्रिय बन्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .