नेकपा माओवादी केन्द्रले प्रदेश २ को समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा पश्मिना कादरीलाई चयन गरेको छ।
उनलाई बिहीबार प्रदेश सभाका सभामुख सरोजकुमार यादवले शपथ ग्रहण समेत गराएका छन्।
उनलाई माओवादी संसदीय दलका नेता भरतप्रसाद साहसहितको उपस्थितिमा शपथ ग्रहण गराएका हुन्।
नेकपा खारेज भई एमाले र नेकपा माओवादी पूर्ववत पार्टीको अवस्थामा फर्केपछि समानुपातिकबाट निर्वाचित मो.समिर एमालेमा गएपछि उनको ठाउँमा कादरीलाई प्रदेश सभा सदस्य चयन गरिएको दलका नेता साहले जानकारी दिए।
मोहम्मद समिर पर्सा जिल्लाकै रहेकाले सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा कादरीलाई चयन गरिएको उनले बताए।
एमालेमा लागेको भन्दै माओवादीले प्रत्यक्ष निर्वाचित ३ र एक समानुपातिक गरि चार जना प्रदेश सभा सदस्यलाई वर्खास्त गरेको थियो।
प्रत्यक्ष तर्फका रामचन्द्र मण्डल धनुषा १ (२), ज्वालाकुमारी साह बारा ३ (१) र कुन्दन कुशवाहा रौतहट ३ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
माओवादीले उनीहरुलाई गत चैत ३० कारवाही गर्दै प्रदेश सभामा पत्रचार गरेपछि पद मुक्त भएका थिए।
प्रदेश २ मा माओवादीका कुल ११ सांसदमध्ये ४ जनालाई कार्वाही गरेपछि ७ जना सांसद रहेका छन्।
कादरीलाई सांसद बनाएपछि माओवादी प्रदेश सांसदको संख्या ८ पुगेको छ।

प्रतिक्रिया