नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले अब अरुको बिरोधमा समय खेर फाल्नु नहुने बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टी एकता कायम राखेकोमा नेकपा (एमाले)का नेताहरुलाई बधाइसमेत दिएका छन्।
‘नेकपा (एमाले) का कमरेडहरुलाई बधाई तथा शुभकामना,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अब प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन।’
उनले अब पार्टी देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थित रुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘बैचारिक छिपछिपेपन, विधिपध्दतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।’
नेता श्रेष्ठले क्रान्तिकारीहरु कुनै पनि परिस्थितिबाट विचलित र निराश बन्नु नहुनेमा जोड दिएका छन्। ‘बिचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन। घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन। तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुटौं!’
Shares

प्रतिक्रिया