ब्लग


मेरो विज्ञताप्रति उठाइएका प्रश्नबारे स्पष्टीकरण

मेरो विज्ञताप्रति उठाइएका प्रश्नबारे स्पष्टीकरण

डा. रवीन्द्र पाण्डे
बैशाख ३१, २०७८ शुक्रबार ३:५८,

विगत १ वर्षदेखि आफ्ना काम छाडेर निरन्तर जनचेतनामा लागिरहेको यहाँहरूलाई अवगत नै छ। नितान्त सामाजिक भावनाले लागिपरेको हुँ। कोरोना महामारी नयाँ भएको र यसको अनुसन्धान हुँदै गरेको हुनाले पुराना धारणा परिवर्तन हुने एवं नयाँ धारणा स्थापित हुने क्रम चलिरहेको छ। तसर्थ WHO, CDC लगायतका संस्थाका धारणा परिवर्तन भइरहेका छन्। यो जनस्वास्थ्य तथा विज्ञानका लागि नौलो विषय हैन।

मैले पनि महामारीको सुरुदेखिका धारणा व्यक्त गर्दै आएको थिएँ। गत साल कोरोना महामारी सुरु हुँदा आम नागरिक निकै आत्तिएको अवस्था थियो। तर हामीकहाँ संक्रमण निकै कम थियो। त्यस्तो बेला मनोबल बढाउने काम गर्नु स्वास्थ्यकर्मीको दायित्व थियो, त्यो निभाउने प्रयास गरेको थिएँ।

बेलायतको नयाँ प्रजाति पहिले ७० प्रतिशत बढी फैलिने तर मृत्युदर कम भएको भनेर धेरै रिसर्च पेपरले उल्लेख गरेका थिए। दोस्रो लहर आउन सक्छ भनेर वर्षभर जनचेतनामा निरन्तर लागेको थिएँ। अहिले फैलिएको प्रजाति बेलायतको मात्र नभएर अफ्रिका, ब्राजिल तथा भारतमा पटकपटक म्युटेसन भएको भाइरसको कारण हो।

बेलायतमा पछि म्युटेसन भएर त्यसको शक्तिमा घटबढ भएको अध्ययनले देखाएका छन्। स्वाभाविक रूपमा बालबालिका तथा युवामा रोगप्रतिरोधी क्षमता दीर्घबिरामी तथा जेष्ठ नागरिकमा भन्दा धेरै हुन्छ भन्ने संक्रमण दर र मृत्युदरले प्रमाणित गरिसकेका छन्।

हरेक व्यक्तिको जिन अलौकिक हुन्छ। त्यो नै व्यक्तिको पहिचान हो। मेरो सम्पूर्ण जेनेटिक स्वभाव कुनै व्यक्तिसँग हुबहु हुँदैन। यो सांकेतिक भनाइ थियो। हाम्रो खानपान, रहनसहन, बसाइ, भौगोलिक अवस्थिति, हावापानी, जीवनशैली आदि विकसित देशमा भन्दा फरक छ। यसैले पनि हाम्रो देशको सबै ठाउँ अन्यत्रजस्तो विस्फोटक अवस्थामा पुग्दैन।

आतंकको आँधी चलेको त्यो समयमा धेरै जना संक्रमित र मृत हुन्छन् भनेर भन्नु मेरो धर्मले दिँदैन। तत्कालीन परिस्थितिअनुसार नागरिकको मनोबल नखस्किने गरी लेख्नु हाम्रो कर्तव्य। तर सम्बन्धित निकायमा मैले नियमित रूपमा अपडेट गराइरहेको थिएँ। संक्रमण र मृत्यु जनस्वास्थ्यको मापदण्ड पालना, इम्युनिटी पावर, उपचार, खोप, भाइरसको म्युटेसनको प्रकारमा भरपर्दछ। सबै ठाउँबाट दीर्घबिरामी र जेष्ठ नागरिकलाई जोखिम भनिरहँदा उहाँहरूको मनोबल कस्तो थियो होला? मनोविज्ञानको विद्यार्थीको नाताले पनि मैले मानसिक सपोर्ट दिनु मेरो कर्तव्य थियो र हुन्छ।

आत्मबल जुनसुकै अवस्थाको लागि पनि बलियो पिल्लर हो। त्यसमा कुनै विवाद। आत्मबलका लागि विश्वका लाखौँ जनशक्ति आआफ्ना उपायबाट क्रियाशील छन्। मनोविद्, सामाजिक कार्यकर्ता, योग र ध्यान र मोटिभेसनल स्पिकर आदि। म पनि त्यसको अंग हुँ।

मेरो निरन्तर अध्ययन, अपडेट तथा निस्वार्थ रूपमा रातदिन खटाइका कारण मैले लेखेका सामग्री प्रचारप्रसार हुनु स्वाभाविक हो। यसै पनि म भूकम्प, बाढीलगायतका समस्याका बेला सकेसम्म जोखिम मोलेर खटेको थिएँ।

मलाई कुनै चर्चाको आवश्यकता छैन। म सेलिब्रेटी बन्नु पनि छैन। म मनदेखि लेखक हुँ। १२ वटा साहित्यिक पुस्तक प्रकाशित छन्। अन्य पनि लेखिरहेको छु। भविष्यमा पनि सामाजिक काम र साहित्यमै जीवन बिताउने मेरो लक्ष्य छ। मेरा स्टाटस भाइरल हुनुमा मेरो कुनै भूमिका हुँदैन।

नि:स्वार्थ काम गरेको व्यक्तिमाथि अनेक टिप्पणी हुन्छन्। यसलाई मैले स्वाभाविक रूपमा लिएको छु।

जहाँसम्म म कसरी जनस्वास्थ्यविद् भएँ भन्ने सवाल छ, मैले जनस्वास्थ्य विषयमा बंगलादेशबाट उपकुलपति स्वर्ण पदकसहित सन् २००७ मा उत्तीर्ण गरेको हुँ। नेपाल सरकारअन्तर्गतको नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा मेरो Specialization Council number 379 Jana PH हो। जनस्वास्थ्यविद्, भाइरोलोजिस्टलगायतका दर्ता यही काउन्सिलमा हुनुपर्दछ। महामारी, सरुवा रोग, नसर्ने रोग आदि रोकथाम र नियन्त्रणमा Public Health को भूमिका विश्वव्यापी हुन्छ नै। यसबाहेक NAMC, NHPC ( Trad & Gen Medicine ) लगायतका काउन्सिलमा दर्ता भएर सेवा प्रदान गरेको थिएँ। म जुन जुन काउन्सिलमा दर्ता भएको छु, ती काउन्सिलमा दर्ता भएका व्यक्तिहरुद्वारा नै नेपाल सरकारले ठूलो योगदान पाएको छ।

कुनै कुण्ठा,  ईर्ष्या तथा अन्य विविध नकारात्मक सोचका व्यक्ति वा अन्यको भ्रममा नपर्नु हुन आम जनसमुदायमा अनुरोध गर्दछु। म जुन जुन विषय र डिग्री अध्ययन गरें, सबैमा स्वर्णपदक प्राप्त हुँ। यीबाहेक मैले अन्य पोस्ट ग्राजुएट कोर्स पनि गरेर आफ्नो ज्ञानको दायरा फराकिलो गरिरहेको छु। ज्ञान, अनुभव र सीप कुनै बन्धनभित्र कैद हुँदैन। यो महामारीको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नु मिडियाको ठूलो धर्म हो। प्राय: सबै मिडियाले यो धर्म निभाएका छन्। म सबै मिडिया एवं आम जनसमुदायप्रति कृतज्ञ छु।

मैले पनि यो महामारीमा चुप लागेर आफ्नो सिर्जनामा लाग्न सक्दथेँ। मैले आफ्नो ज्ञान, सीप र अनुभव जनहितमा सदुपयोग गरेको हुँ। मेरो समय, ऊर्जा, पारिवारिक जीवन, व्यक्तिगत जीवन यसो नगर्दा आरामदायक हुन्थ्यो। तर म राष्ट्र एवं जनतालाई परेको पीडामा निरपेक्ष भएर बस्न सक्दिनँ। यही नै मेरो कमजोरी वा शक्ति हो। मेरो महामारी संस्मरणमा विस्तृत अनुभव लेख्ने नै छु।

के म कसैको कुण्ठा र ईर्ष्याका लागि निष्क्रिय बसौं? आफ्नो व्यक्तिगत काममा मात्र लागौं त? के महामारी रोकथाम र आम समुदायको आत्मबलका लागि ती एकाधको जिम्मामा छाडौं त?

मलाइ लाग्छ, महामारी नियन्त्रणमा सबैको आआफ्नो महत्वपूर्ण भूमिका हुन्छ। जनस्वास्थ्यले जनचेतना, चिकित्सकले उपचार, भाइरोलोजिस्टले अनुसन्धान, वैज्ञानिकले नयाँ तथ्यको अन्वेषण.......यो सामूहिक प्रयासले मात्र हामी सफल हुने हो। एकल प्रयास वा विधाले यो लडाइँ जित्न सकिँदैन।

म नकारात्मकताभित्र सकारात्मक देख्ने मान्छे हुँ। तसर्थ सबैलाई हार्दिक धन्यवाद !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad