जेठ ६ गते हुन लागेको वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्।
कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडामा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले सवा ११ बजे मनोनयन दर्ता गराएका हुन्।
देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल रहेका छन् भने नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी छन्।
यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री थापाले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका छन्।
एमालेले शुक्रबार बिहानमात्रै थापालाई नै उम्मेदवार बनाउने टुंगो गरेको थियो।
उम्मेदवारी दर्ता गराउन थापा हेलिकप्टरबाट हेटौंडा पुगेका थिए।
थापाको प्रस्तावकमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा समाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्।
उपनिर्वाचनको लागि विहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
उपनिर्वाचनको मतदान जेठ ६ गते हुनेछ।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी प्रावधानअनुसार सो पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।
संघीयतासम्बन्धी विज्ञ डा. देवकोटा यसअघि वागमती प्रदेशमै विज्ञको रुपमा काम गरेका थिए।
यसैबीच, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले सो पदमा आफ्नो छुट्टै उम्मेदवार उठाउने भएको छ।
‘सो रिक्त सिटमा हामीले काभ्रेका नेता कृष्णबहादुर तामाङलाई नेमकिपाको उम्मेदवार बनाएका छौं,’ नेमकिपाका प्रतिनिधि सभाका सांसद प्रेम सुवालले नेपालखबरसँग भने।

प्रतिक्रिया