ad ad

राजनीति


गण्डकी प्रदेश सभाका सदस्य शाहीबारे ३ दलको विज्ञप्ति षडयन्त्रपूर्ण : सूर्य थापा

गण्डकी प्रदेश सभाका सदस्य शाहीबारे ३ दलको विज्ञप्ति षडयन्त्रपूर्ण : सूर्य थापा

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १:५६,

गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाही विशेष अधिवेशनको बैठकमा अचानक अनुपस्थित ‘गराइएका’प्रति विभिन्न आशंका गर्दै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले जारी गरेको संयुक्त विज्ञप्ति रहस्यमय र षडयन्त्रपूर्ण रहेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लगाएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्नुपर्ने दिन गत बुधबार राष्ट्रिय जनमोर्चाबाट प्रदेश सांसद शाही अचानक ‘बेपत्ता’ भएका थिए। तर पछि उनी कोरोना संक्रमण भएको भन्दै एक निजी अस्पतालको आईसीयूमा फेला परेका थिए। उनी अनुपस्थित भएकै कारण त्यस दिन अविश्वास प्रस्तावमा मतदान हुन सकेन र विशेष अधिवेशनको बैठक नै स्थगन गरियो।

सोही सम्बन्धमा कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति जारी गरी सरकार पक्षप्रति ८ प्रश्न उठाएका हुन्। साथै उनीहरूले यस प्रकरणमा ३ बुँदे मागसमेत राखेका छन्।

यो पनि : ‘सांसद बेपत्ता’ प्रकरणमा ३ दलले उठाए ८ प्रश्न, राखे ३ माग (वक्तव्य)

यही वक्तव्यलाई प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले रहस्यमय र षडयन्त्रपूर्ण भनेका हुन्। सांसद शाहीकै पार्टी जनमोर्चाचाहिँ चुपचाप बस्नु, तर अन्य ३ दलले वक्तव्यबाजी गर्नु प्रदेश सभामा आफ्नो बहुमत पुर्‍याउन नसकेको यथार्थ स्वीकार गर्न नसक्नुको परिणाम भएको दाबी थापाले गरेका हुन्।

Surya Thapaप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा।

‘गण्डकीका प्रदेश सभा सदस्य खिमविक्रम शाहीको बिमारीको चिन्ता नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले गरेको तर राजमो मौन बसेको यो वक्तव्यवाजी स्वयंमा रहस्यमय र षड्यन्त्रपूर्ण छ,’ प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन, ‘प्रदेश सभाको बहुमत देखाउन नसकेको पक्षलाई यथार्थ स्वीकार गर्न कति धेरै अप्ठेरो लागेको होला !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .