चीनले दक्षिण एसियाका केहि मुलुकलाई समेटेर नयाँ संयन्त्र बनाउने घोषणा गरेको छ।
चीन–दक्षिण एसियाली मुलुकहरुको आपतकालीन आपूर्ति रिजर्भ र चीन–दक्षिण एसियाली मुलुकहरुको गरिबी निवारण तथा सहयोगात्मक विकास केन्द्र स्थापना गर्ने आफूले निर्णय गरेको चीनले जनाएको छ।
त्यसैगरी उसले ग्रामिण क्षेत्रमा गरिबी निवारणबारे चीन र दक्षिण एसियाली मुलुकहरुको ई–कमर्स सहयोग मञ्च आयोजना गर्ने घोषणा पनि गरेको छ।
नेपाल, अफगानिस्तान, बंगलादेश, चीन, पाकिस्तान र श्रीलंकाका परराष्ट्रमन्त्रीहरुबीच भएको भर्चुअल कन्फ्रेन्सपछि जारी संयुक्त वक्तव्यमा सो जानकारी दिइएको हो।
चीनको नेतृत्वमा मंगलबार आयोजित सो कन्फ्रेन्समा भारत, भुटान, माल्दिभ्स भने सहभागी थिएनन्।
यो पनिः के चीनले नेपाल, पाकिस्तान र अफगानिस्तानसँग मिलेर ‘हिमाली क्वाड’ बनाउँदैछ?
दक्षिण एसियाली मुलुकसँग ती संयन्त्र गठन गर्ने चीनको सो प्रस्तावमा सहभागी अन्य मुलुकका परराष्ट्रमन्त्रीहरुले समर्थन जनाएका छन्।
‘सहभागी परराष्ट्रमन्त्रीहरुले ती संयन्त्रहरुलाई समावेशी, पारदर्शी, दीगो र मागमा आधारित बनाउन सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ।
यी ६ मुलुकहरुबीच सहयोगको गति कायम राख्न, परराष्ट्रमन्त्री, सहायक परराष्ट्र मन्त्री, सचिव र महाननिर्देशकहरुको तहमा परामर्श जारी राख्न, सहयोगका क्षेत्र विस्तार गर्न र भावी सहकार्यका लागि आधार तयार गर्न पनि परराष्ट्रमन्त्रीहरु सहमत भएका छन्।
‘यसका साथै, खुलापन, समावेशिता र विन–विन (सबैलाई फाइदा हुने) सहकार्यको मान्यताअनुसार यी ६ मुलुकले यस क्षेत्रमा रहेका अन्य मुलुकलाई पनि ती संयन्त्रमा सक्रिय सहभागिताका लागि स्वागत गर्ने बताएका छन्,’ वक्तव्यमा उल्लेख छ।
चीनका विदेशमन्त्री वाङ यीले यी संयन्त्रमा सहभागी मुलुकहरुलाई कोरोना महामारी सामना गर्न निरन्तर स्वास्थ्य सामग्री र प्राविधिक सहायता जारी राख्ने बताएका छन्।
सो कन्फ्रेन्समा अफगानिस्तान, बंगलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीहरु क्रमशः मिर्वाइस नाब, एके अब्दूल मोमन, वाङ यी, प्रदीप ज्ञवाली, मखदूम शाह महमूद कुरेसी र दिनेश गुणवर्दने सहभागी थिए।
यो पनिः
नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा
Shares

प्रतिक्रिया