पछिल्लो राजनीतिक घटनाक्रम, गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव र लुम्बिनी प्रदेशमा पार्टी निर्णय उल्लंघन गर्ने सांसदहरुको विषयबारे निर्णय गर्नको लागि जनता समाजवादी पार्टी (जसापां)का ६ जना शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
पार्टी कार्यालय ललितपुरको बालकुमारीमा जारी बैठकमा अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छन्।
शीर्ष नेताको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल गरिरहेको एक नेताले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने र नयाँ सत्ता गठबन्धन बनाएर जानुपर्ने विषयमा जसपाभित्र दुई धार छ।
ठाकुर र महतो ओली सरकारले आफ्ना माग पूरा गर्ने प्रक्रिया अघि बढाइसकेकोले मिलेर जानुपर्ने अडानमा छन्। तर, अध्यक्ष यादव र डा. भट्टराई नयाँ गठबन्धन बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
जसपाभित्रको दुई धारकै कारण नेपाली कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको दाबी गरेको छ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अझै अविश्वासको प्रस्तावको लागि संख्या नपुगेको बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया