राजनीति


गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदान हुनुअघि सांसदको रिसोर्टमा बास

गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदान हुनुअघि सांसदको रिसोर्टमा बास

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ६:३२,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा एक दिनअघि दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा राखेका छन्।

अविश्वास प्रस्ताव दर्ता गराएका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले आफ्ना सांसदलाई रिसोर्टमा राखेका हुन्।

सांसदहरु छुट्टाछुट्टै रहँदा विपक्षीले चलखेल गर्नसक्ने सम्भावना बढेकोले होटलमा राखिएको एक नेताले बताए। 'बाहिर रहँदा विपक्षीले चलखेल गरेर फ्लोर क्रस गराउने खतरा भएकाले सबैलाई एकै ठाउँमा राखिएको हो,' उनले भने।

रिसोर्टमा बसेका प्रदेश सांसदहरु मंगलबार दिउँसोको प्रदेश सभाको बैठकमा सहभागी छन्। बैठकपछि पुनः रिसोर्टमै फर्किने एक सांसदले बताए।

गण्डकी प्रदेशमा विपक्षी दलहरुतर्फका एक सांसदले मात्रै फ्लोर क्रस गरेमा अविश्वासको प्रस्ताव पारित हुन सक्दैन।

कांग्रेस र माओवादीका सांसद एउटै रिसोर्टमा बसेका छन्। उनीहरुलाई लेकसाइडको कुटी रिसोर्टमा राखिएको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए।

अविश्वास प्रस्तावमा मतदानअघि सबै सँगै बसेर छलफल गर्न सजिलो हुने हुँदा होटलमा बसेको उनले प्रस्ट्याए।

जसपा र जनमोर्चाका सांसदहरु भने कांग्रेस, एमाले बसेको रिसोर्टमा बसेका छैनन्।

'हामी उहाँहरुसँग बसेका छैनौं। छुट्टै ठाउँमा छौं', जसपा सांसद हरिशरण आचार्यले भने, 'अविश्वासको प्रस्तावमा मतदान गर्ने विषयमा दुईमत छैन। अविश्वासको प्रस्ताव जुनसुकै हालतमा पास हुन्छ।'

३ सांसद रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि मतदान गर्ने घाेषणा गरेकाे छ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव विशेष अधिवेशनको पहिलो दिन सोमबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले टेबुल गराएका थिए।

६० सदस्य रहेकाे प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक पर्छ। मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेर वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्।

यो पनिः
गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदान हुनुअघि सांसदको रिसोर्टमा बास

गण्डकी प्रदेशः गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीको उम्मेदवार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad