नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टी ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले दशौँ महाधिवेशन आयोजक समितिको बैठकले प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निष्काशन गरेको हो।
तर, विश्वासको मत दिएर सच्याउने देवी वलीलाई भने पार्टीबाट निष्काशन गरिएको छैन। मुख्यमन्त्री शाहीले आफूविरुद्धको अविश्वासको प्रस्तावमा यही वैशाख ३ मा विश्वासको मत लिएका थिए। वलीले सुरुमा शाहीलाई विश्वासको मत दिए पनि पछि सच्याउँदै फिर्ता लिएका कारण कारबाहीबाट जोगिएकी हुन्।
पार्टीले कारबाही गरेसँगै उनीहरुको सांसद पद समेत खारेज हुने प्रक्रिया अघि बढ्नेछ।
यस्तै बैठकले स्पष्टीकरण सोधिएका माधव नेपालसहितका २७ सांसदको निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिएको छ।
Shares

प्रतिक्रिया