प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लकडाउनको धम्की नदिएको स्पष्टीकरण दिएका छन्।
नयाँ वर्ष २०७८ सुरु भएको दिन आज (बुधबार) बिहान देशवासीको नाममा सम्बोधन गर्दै उनले केही दिनअघि आफूले बोलेको कुरा बंग्याइएको गुनासो गरेका हुन्।
युरोपका मुलुक दोस्रो, तेस्रो लहरको कोरोना महामारी रोक्न घरिघरि लकडाउन गर्न बाध्य भइरहेको अवस्थामा नेपाललाई भने अन्य सतर्कताकै विधिबाट त्यस्तो अवस्थामा पुग्न नपरोस् भनेर जोड दिइएको उनले बताए।
प्रधानमन्त्री ओलीले भने, ‘मैले अस्ति बोल्दा लकडाउन गर्ने धम्की दियो भनेर पनि भनियो। म धम्की दिन्नँ। म धम्की दिने हैसियत राख्दिनँ। परिस्थिति बिग्रियो भने त्यहाँ (लकडाउन) पनि पुग्नुपर्ने अवस्था आउन सक्छ भनेको हुँ। त्यसकारण सतर्क रहन जरुरी छ।’
सम्बोधनमा प्रधानमन्त्री ओलीले खासगरी दोस्रोपटक बढिरहेको कोरोना संक्रमणबाट बच्न सतर्कताका उपाय अपनाउन आम नागरिकलाई विशेष अपिल गरेका छन्।
यो पनि : नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : २०७७ सफलताकै वर्ष रह्यो (लाइभ)
Shares

प्रतिक्रिया