नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम गएका छन्।
जनआन्दोलन दिवस (चैत २४) को अवसर पारेर मंगलबार दिउँसो रुकुमको खलंगमा आयोजित सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम गएको उनको सचिवालयले जनाएको छ।
‘जनआन्दोलन दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षज्यू रुकुम जानुभएको हो’, सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।
तत्कालीन माओवादी जनयुद्धको आधार इलाका रहेको रुकुममा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवरस पारेर कार्यक्रम गर्न लागेको हो।
केन्द्रमा नयाँ सरकार गठनको तयारीकै बीच प्रचण्ड रुकुम पुगेका हुन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ।
सभालाई माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतका नेताहरुले पनि सम्बोधन गर्न बताइएको छ। कार्यक्रमका लागि नेता शर्मा केही दिनअघिदेखि नै रुकुम पुगेका थिए।
नेता शर्माले मंगलबार बिहान जनयुद्धका सहिद नरेन्द्र बुढाको सालिक समेत अनावरण गरेका छन्।
Shares

प्रतिक्रिया