एएफसी कप प्रारम्भिक छनोट चरणको खेलअन्तर्गत भोलि बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन्।
त्यसअघि आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रि–म्याच कन्फरेन्सको आयोजना भएको छ।
आर्मी राम्रो टोली हो, चुनौती दिन्छौँः श्रीलंका पुलिसका प्रशिक्षक
श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले आफ्नो टोलीले तीन महिनादेखि तयारी गरेको पत्रकार सम्मेलनमा बताए। कोरोनाको कारण लामो समय मैदानबाहिर रहनुपरेको उनको भनाइ छ।
उनले पत्रकार सम्मेलनमा भने, ‘आर्मी क्लब राम्रो टोली हो। हाम्रो लागि चुनौती नै छ तर राम्रो गर्नेछौँ।’

श्रीलंकामा उनको टोली गत वर्षको च्याम्पियन हो। तर कोरोनाको कारण धेरै समय मैदानबाहिर रहनुपरेको उनले बताए। उनले राष्ट्रिय खेलाडी आफ्नो टिममा नभए पनि तीन जना विदेशी खेलाडी समावेश गरेको जानकारी दिए।
उनका अनुसार घानाका तीन खेलाडी प्रिन्स बोडु, असान्टे इभान्स र अदेभु आईज्याक छन्।
त्यस्तै श्रीलंका पुलिसका क्याप्टेन चमल्का कुमाराले तयारीको लागि छोटो समय पाएको उल्लेख गरे। हतारको तयारीपछि नेपाल आएको उनको भनाइ छ।
तयारी राम्रो छ, जितको विकल्प छैनः आर्मीका प्रशिक्षक
यता त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले एएफसी क्लब लाइसेन्स पाएयता नै तयारी सुरु गरेको बताए। उनले भने, ‘एउटा वार्मअप म्याच पनि किर्गिज टोलीसँग खेल्ने मौका पायौँ। तयारी राम्रो भएको छ।’
उनले बीचमा कोरोनाले केही अप्ठ्यारो बनाए पनि अहिले राम्रो तयारी गरेको बताए। आफ्ना नौ जना खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाइएको बताउँदै उनले त्यो आर्मीको लागि प्लसपोइन्ट भएको बताए।
राष्ट्रिय टोलीमा नयाँ कोच आएकाले अहिले खेलाडीलाई पनि गेम देखाउने मौका रहेकोले खेलाडीले राम्रो खेल्ने उनको आशा छ।
उनले भने, ‘जितको विकल्प छैन, जित्नकै लागि खेल्नेछौँ।’
श्रीलंकाको टिममा विदेशी खेलाडी भए पनि आर्मीका खेलाडीले राम्रो गर्ने प्रशिक्षक न्यौपानेको भनाइ छ।
उनले केही दिनअघि सम्पन्न थ्रिनेसन्स कप नेपालले जित्दाजस्तै दर्शकलाई फेरि अर्को जित दिएर खुसी पार्ने बताए।
आफ्नो टोलीका सुमन अर्याल घाइते भए पनि भोलिको खेलमा फर्किनसक्ने प्रशिक्षक न्यौपानेले बताए। उनले भने, ‘तर टेक बहादुर बुढाथोकी भने खेल्नेछैनन्।’
एएफसी कप आर्मीका लागि अवसरको रुपमा लिएको आर्मीका क्याप्टेन भरत खवासले बताए।
‘म आफ्नो लागि चुनौती र अवसर दुवै छ’, खवासले भने, ‘यो खेल आर्मीको पहिलो अन्तर्राष्ट्रिय खेल हो, शारीरिक र मानसिक दुवै रुपमा तयार भएकाले रोमाञ्चित छौँ।’

प्रतिक्रिया