राजनीति


भारतीय तरकारीमा विषादी परीक्षण नरोकिएको मन्त्री यादवको दाबी

भारतीय तरकारीमा विषादी परीक्षण नरोकिएको मन्त्री यादवको दाबी

नेपालखबर
साउन २८, २०७६ मंगलबार १०:५३,

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताएका हुन्। उनले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गरे।

उनले भने, ‘योजना बनाएको मात्रै सुन्नुभयो। थुप्रै अनुगमन गरेको छु। थुप्रै कारबाही गरेको छु। त्यो चाही सुन्नुभएन मलाई आश्चर्य लाग्छ। एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो। योजना मात्रै सुन्नुभयो। अनुगमन गरेको कारबाही गरेको सुन्दिनुभएन भने त मन्त्रीप्रति अन्याय हुन्छ। अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ।’

उनले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म विषादी पाईएको भन्ने कुरामा सत्यता नभएको बताए।
उनले भने, ‘असार मसान्तसम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ।’

उनले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पारे। उनले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएकोले राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताए।

उनले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पारे।

सांसदहरु उमा रेग्मी, बषन्त कुमार नेम्वाङ्ग, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी लगायतले मन्त्रीलाई प्रश्न गरेका थिए।

प्रश्न सोध्नका लागि नाम टिपाउने सांसद महेन्द्र राय यादव नै संसद बैठकमा अनुपस्थित भएपछि मंगलबारका लागि निर्धारित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेन। प्रश्न सोध्ने सांसद नभएपछि मन्त्री पण्डित रोष्टम पुगेर फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad