राजनीति


एमालेलाई नयाँ ढंगले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ

एमालेलाई नयाँ ढंगले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ

नेपालखबर
चैत १८, २०७७ बुधबार ७:८,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढंगले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन्।

नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा सहिद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताए।

उनले भने, ‘सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरुरी छ। विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा सहिद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न हामी लागि पर्नेछौँ।’ तत्कालिन समयमा ललितपुरका जनताले निरङ्कुश शासन विरुद्ध गरेको त्याग र बलिदानको आफूहरुले सदैव कदर गर्दै अघि बढ्ने उनको भनाइ थियो।

नेकपा एमाले ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले २०४६ साल चैत १८ गते पाटनका जनताले पञ्चायती शासनलाई घुँडा टेकाउन सफल भइ आजको दिनमा आइपुग्न पाएको बताए। नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिव पुरुषोत्तम आचार्यले सहिदका कारण मुलुकमा परिवर्तन सम्भव भएकाले उनीहरुका परिवारलाईसमेत सुखदुःखमा साथ दिँदै अघि बढ्न ध्यान दिइने बताए।

यसैबीच मन्त्री श्रेष्ठले ललितपुर महानगरपालिका–१३ नख्खु दोबाटो गई २०३१ साल असोज १३ गते जेल सार्ने क्रममा तत्कालीन सरकारले गोली हानी हत्या गरेका चार योद्धा ठगीराज दाहाल, लीलानाथ दाहाल, खगेन्द्रराज दाहाल र गोकर्णबहादुर कार्कीको सालिकमा माल्यार्पण गरेका थिए।

सो कार्यक्रममा संविधानसभा सदस्य सुशीला नेपाल, ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवाल, प्रदेशसभा सदस्य चेतनाथ सञ्जेललगायतको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad