नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको बैठकमा माधवकुमार नेपालको पक्ष पनि सहभागी हुने भएपछि ओलीनिकट नेता गोकुल बास्कोटा खुसी भएका छन्।
बिहीबार नेपाल पक्षले ओलीको आह्वानमा भोलि दिउँसो बस्ने संसदीय दलको बैठकमा जाने बताएपछि प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्री बास्कोटाले सामाजिक सञ्जालमार्फत अब पार्टी एक हुने विश्वास व्यक्त गरेका हुन्।
यसअघि नेपाल पक्षले ओलीले बोलाएका सबै खालका बैठक बहिष्कार गरिरहेको थियो।
‘गुटबन्दी महाधिवेशनमा समूहगत उमेदवारीले हुर्काएको सत्य हो, सांसदले आफैं सहीछाप गरे भन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो। बैठकमा जाने, त्यै भन्दिने,’ बास्कोटाले भनेका छन्, ‘संसदीय दल एक भइहाल्छ। अनि पार्टी पनि। न आग्रह न पूर्वाग्रह। गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले ओत दिइहाल्छ नि।’
‘हाम्रो संसदीय दल बहिष्कार गर्ने नीति छैन। बैठकमा जान चाहने सांसदलाई कुनै रोकटोक छैन’, नेपाल–खनाल पक्षका सांसद जीवनराम श्रेष्ठले बिहीबार नेपालखबरसँग भनेका छन्, ‘हामीले संसदीय दलको बैठक बालुवाटारमा नभई सिंहदरबारस्थित संसदीय दलमा वा संसद भवन नयाँ बानेश्वरमा राख्दा राम्रो हुन्छ भन्ने धारणा राखेका हौं।’
Shares

प्रतिक्रिया