विश्व सम्पदा सूचिमा सूचीकृत वसन्तपुर, हुनमानढोका दरबार क्षेत्र आसपासमा अनाधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ।
‘विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जीर्णोद्वार, तथा सम्वद्र्धन गरी प्राचीनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व हो। त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौँ। तर, विभागले ढिलासुस्ती गरिरहेको छ।’
उनले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु चलेका भन्दै छिटो हटाउन आग्रह गरेको पुनः स्मरण गराए।
‘ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो। बटुवाहरु त्यहीँ सतलमा आराम गर्ने गर्थे’, शाक्यले भने, ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो।’

उनले तलेजु मन्दिरको आसपास मख्खनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खाली गराउन आग्रह गरेको जानकारी दिए।
‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ। त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिकरुपमा आग्रह ग¥यौँ,’ शाक्यले भने, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ। पछिल्लो समय उहाँहरुले हटाउने बारेमा चासो गरेको र छलफल चलाएको भन्ने जानकारी पाएको छु। उहाँहरुलाई जतिसक्दो छिटो हटाउने वातावरण निर्माण गर्न पुनः आग्रह गर्छु।’
स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको शाक्यले स्मरण गराए।
‘स्थायनीले मसँग यो काम छिटो सम्पादन गर्नुप¥यो भनी आग्रह गरिरहेका छन्,’ उनले भने, ‘उहाँहरुको समेत माग सम्वोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको छ। आफैँ सम्पदा बचाउने संस्था भएकाले सम्पदा मासेर उहाँहरुले व्यापार चलाइरहनु होला भन्ने मलाई विश्वास छैन।’
जनभावना र काठमाडौँ महानगरपालिकाले गरेको पत्राचार अनुसार काम होस भन्नेमा आफू रहेको उनले बताए। ‘ऐतिहासिक ठाउँलाई ऐतिहासिक नै कायम गरेर बटुवामैत्री सतल बनाउने महानगरपालिकाको योजनालाई सहयोग गर्न आग्रह गर्दछु,’ शाक्यले भने, ‘मसँग मौखिक रुपमा कुराकानी हुँदा उहाँहरुले प्रक्रिया पुर्याएर हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। त्यसैले उहाँहरुले अदेखा गरेर बस्नुहोला भन्ने मलाई लागेको छैन।’
सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्व रहेको उनले स्मरण गराए। ‘विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्यो भने अन्त पनि काम गर्न कठिन हुन्छ,’ शाक्यले भने, ‘हामीले अरुलाई नियन्त्रण गर्न कठिन हुन्छ। त्यो कुरा उहाँहरुले मनन् गर्नुहुन्छ भन्ने हामीले ठानेका छौँ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यही माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी दिए।

‘वसन्तपुर हुनमानढोका दरबारक्षेत्रको वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘अनाधिकृत व्यपार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएका छौँ। उहाँहरु सकारात्मक रुपमा अघि बढ्नुहोला भन्ने अपेक्षा गरेका छौँ।’
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुर्याएर हटाउन आफूहरु सकारात्मक रहेको जानकारी दिए।
‘त्यो हाम्रो क्षेत्राधिकारभित्रै पर्छ। अहिले त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको छ,’ गौतमले भने, ‘त्यहाँको संरक्षण, मर्मत सहारका लागि टिकेटको केही रकम महानगरपालिकाबाट आउँछ। त्यसैगरी कार्यालयमा काम गर्ने कर्मचारीको सेवा–सञ्चालन, तलब–भत्तालगायत त्यहिबाट उपार्जन गर्ने गरी समिति बनाएका हो।’
समितिको नेतृत्व पर्यटन मत्रालयको सचिवले गर्ने व्यवस्था रहेको भन्दै गौतमले बैठक बसेर जतिसक्दो छिटो प्रक्रिया अघि बढाउने जानकारी दिए।
‘पुरातात्विक र विश्व सम्पदा सूचीमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक छ। त्यस ठाउँलाई त्यही पहिचानसहित राख्नुपर्छ भन्ने काठमाडौँ महानगरपालिकाका प्रमुखज्युको कुराको म स्वागत गर्छु। त्यसका लागि महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु,’ गौतमले भने, ‘तर, त्यसका लागि सबै पक्षसँग छलफल गरेर प्रक्रियागत रुपमा अघि बढौँ भन्ने छ।’
महानगरपालिकाको पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको स्मरण गौतमले गराए। ‘यो विषय सकारात्मक छ भनेर मैले पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको छु,’ गौतमले भने, ‘हनुमान ढोका दरबार संग्राहलय विकास समितिको बैठक बोलाएर हामी जतिसक्दो छिटो निर्णयमा पुग्छौँ। त्यहाँबाट हटाउनुपर्छ भन्नेमा म सकारात्मक छु। प्रक्रियागत रुपमा अघि बढौँ।’

प्रतिक्रिया