सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना भएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्नेमा प्रतिनिधि सभामा अवरोध भएकोले प्रस्तुत हुन नसकेको बताएका छन्।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले ती अध्यादेश टेबुल गर्न नियम निलम्बन गरेर अगाडि बढ्नेबारे दलहरूबीच छलफल चलिरहेको जानकारी दिए।
संसद्मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको भन्दै दलहरूबीच छलफल भइरहेको र त्यसबारे छिट्टै निष्कर्ष निस्किने उनले बताए।
‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ सापकोटाले भने, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु। निष्ठाका साथ अगाडि बढ्छु।’
अध्यादेश रोकिएको भन्दै चैत ६ गतेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका थिए।
पहिलाे बैठकमा अध्यादेश प्रस्तुत गर्न नपाएपछि सरकारले त्यसपछि टेबल नै गरेको छैन।
उनले संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसका लागि समय मागेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न साेमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीसँग भएको भेटका क्रममा छलफलका लागि समय मागेको उनको भनाई छ।
‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो, त्यो कुरा प्रधानमन्त्रीसम्म पुगेको रहेछ,’ सभामुख सापकोटाले भने, ‘आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो। भेट गर्न समय मागेको छु, खबर आउला।’
उपसभामुख निर्वाचनको लागि राजनीतिक दलहरू तयार भएमा आफू प्रक्रिया अगाडि बढाउन तयार रहेको सापकोटाको भनाइ थियो। त्यसमा पनि सत्तारूढ दलको भूमिका प्रमुख हुने उनले बताए।

प्रतिक्रिया