नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार वार्ता भइरहँदा पार्टीका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले भने तीव्र असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बोलाएपछि वरिष्ठ नेता नेपाल छलफलका लागि आफ्नो टोलीसहित आज बिहान एमाले केन्द्रीय कार्यालय (धुम्बाराही) पुगेका थिए।
उनीहरूबीच वार्ता चलिरहँदा एमालेका पोलिटब्युरो सदस्य डा. पौडेलले भने ९९ पटक धोका खाएर फेरि अर्काे धोका खाने काम गर्नु ठीक नभएको प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै उनले जसले असंवैधानिक काम गरेको छ, पहिला उसले राजीनामा दिनुपर्ने माग गरेका हुन्। यस्तो लेख्दा आफूलाई पार्टीमा नबस भन्नेहरू वास्तविक ‘गद्दार’ हुने आक्रोश पनि उनले पोखेका छन्।
‘आफ्नो स्पष्टीकरण– ए साथी हो ! निरन्तर मिलेर जाने प्रयास गर्ने हो तर निरन्तर धोका खाने हैन। ९९ पटक धोका खाएर फेरि अर्को धोका खानु,’ उनले लेखेका छन्, ‘जसले असंवैधानिक काम गरेको छ, आत्मालोचनासहित राजीनामा गर्नुपर्याे, सबैभन्दा पहिले। यसो लेख्दा मलाई धकेलेर पार्टीमा नबस भन्नेहरू वास्तविक गद्दार हुन्।’
डा. पौडेल एमाले नेता एवं पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितका छोरा हुन्।
तर आज ओली र नेपाल पक्षबीच भएको वार्तामा सहमति हुन सकेन। नेपाल पक्षले यही फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णय मान्न नसकिने अडान राख्यो भने ओली पक्षले त्यसलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेको छ।
फागुन २८ गते एकैदिन ओलीले आफूपक्षीय केन्द्रीय सदस्यको दुइटा बैठक राखेर अबदेखि पार्टीमा अध्यक्ष र महासचिवबाहेक अरू पद नरहने निर्णय गर्दै विदेश विभाग प्रमुख वरिष्ठ नेता नेपालको ठाउँमा डा. राजन भट्टराई राख्नेलगायत नेपाल–खनाल पक्षका सबै नेताको पद र जिम्मेवारी खोसेका छन्।

प्रतिक्रिया