सरकारको आज (बिहीबार) बसेको बैठकले १० वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकको निर्णय सुनाएका हुन्।
बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गर्ने निर्णय गरेको छ।
बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बीबीएनजे) अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए। राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि निर्णय गरिएको छ।
यसै गरी मन्त्रिपरिषद्को बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदसमा पेस गर्न स्वीकृति दिएको छ।
प्रवक्ता पोखरेललका अनुसार बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।
Shares

प्रतिक्रिया