नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले माधवकुमार नेपाल पक्षसँग भएको छलफलमा प्रस्टसँग कुरा भएको बताएका छन्।
पार्टी कार्यालय धुम्वाराहीमा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षबीच सोमबार भएको छलफल विषयकेन्द्रित भएको उनले बताए।
यद्यपि आजको छलफलमा कुनै सहमति नजुटिसकेको उनले जानकारी दिए।
‘उहाँहरुले २८ गतेको निर्णयबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ’, प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले यो निर्णयहरुका विषयमा छलफल गर्न सकिन्छ, यसलाई नै प्रतिष्ठाको विषय बनाएर जान जरुरी छैन भन्नुभएको छ। अब हामी लगातार छलफलमा बस्छौँ। ७ गतेको केन्द्रीय समितिको बैठकका विषयमा पनि छलफलमा बस्छौँ।’
फागुन २८ गते बसेको एमालको केपी ओलीपक्षीय बैठकले माओवादी केन्द्रबाट एमालेमा खुलेका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै माधव नेपाल पक्षका नेतालाई पार्टीमा जिम्मेवारीमुक्त गरेको थियो।
छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए भने उता नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी थिए।
यो पनि :
- आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल
- ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्वाराहीमा छलफल हुने

प्रतिक्रिया