प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र छाडेर एमालेमा आफ्नो समूहमा खुलेका दुई नेतालाई दुई प्रदेशको मुख्य जिम्मेवारी दिएका छन्।
अध्यक्ष ओली पक्षमा खुलेका रामबहादुर थापा र लेखराज भट्ट प्रदेश इन्चार्जको जिम्मेवारी पाएका हुन्।
ओली सरकारमा गृहमन्त्रीसमेत रहेका थापाले बागमती र उद्योग मन्त्री रहेका भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाएका हुन्।
पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका दुई नेता एमाले र माओवादी केन्द्रको एकतापछि ओली पक्षमा खुलेर लागेका थिए। सर्वोच्चले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई खारेज गरिदिएपछि उनीहरु एमाले र त्यसमा पनि प्रधानमन्त्री ओली पक्षमौ खुलेर लागेका थिए।
आफूलाई संकटको बेला साथ दिएको भन्दै ओलीले उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका हुन्।
शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रबाट आफ्नो पक्षमा खुलेका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको एक नेताले बताए।
यसअघि नेकपामा बागमती अष्टलक्ष्मी शाक्य, कर्णालीमा माओवादी नेता जनार्दन शर्मा र सुदूरपश्चिममा प्रदेशमा भीम रावल इन्चार्ज थिए।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व एमालेमा प्रदेश कमिटी नभएर अञ्चल कमिटी रहेको र त्यसलाई परिवर्तन गर्नका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गरिए र अहिले पनि ओलीले त्यही अधिकार प्रयोग गर्दै प्रदेश इन्चार्ज हेरफेर गरेका हुन्।
अदालतले एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर पार्टीहरुलाई पूर्ववत अवस्थामा पुर्याए पनि ओलीले एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षलाई बाइपास गरेर एकलौटी रुपमा निर्णय गरेका छन्।

प्रतिक्रिया