राजनीति


यो संविधानको हत्या गर्ने बहस चलेको छ, सबैभन्दा बढी घेराबन्दी ममाथि गरियोः प्रचण्ड (भिडियो)

यो संविधानको हत्या गर्ने बहस चलेको छ, सबैभन्दा बढी घेराबन्दी ममाथि गरियोः प्रचण्ड (भिडियो)

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ६:३६,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले यो संविधानलाई रक्षा गर्ने की हत्या गर्ने भन्ने बहस चलेको बताएका छन्।

पहिले अधिकारबाट बन्चित भएकाहरुले अहिलेको संविधानमा अधिकार पाएको धेरैलाई मन नपरेको र उनीहरुले यो उल्ट्याउने षडयन्त्र गरेको प्रचण्डले दाबी गरे। त्यसैले त्यसविरुद्ध क्रान्ति गर्नुपर्ने उनको जिकिर छ।

‘जसले गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक भन्ने मन पराउँदैनथे उनीहरुले यो उल्ट्याउन खोजेका छन्,’ शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले भने।

उनले शान्ति सम्झौता गर्दाका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको स्मरण गर्दै अहिले आफूलाई एक्ल्याउन खोजिएको बताए।

‘अहिले सबैभन्दा बढि घेराबन्दी ममाथि भएको छ,’ उनले भने।

उनले प्राप्त उपलब्धीलाई उल्ट्याउन देशभित्र र बाहिरका प्रतिक्रियाबादीले षडयन्त्र गरेको बताए।

जन्मेको बच्चालाई फेरि भित्र लैजाने जस्तै षडयन्त्र गरिएको उनले दाबी गरे।

‘दलित, मधेसी, महिला, मुश्लिम, जनजातिले जति अधिकार पाएका छन् त्यसलाई अझ परिमार्जित गर्दै जाने की यसको हत्या गर्ने भन्ने बहस चलेको छ,’ उनले भने।

प्रचण्डले प्राप्त अधिकार र उपलब्धीको रक्षाका लागि आवश्यक परे फेरि आन्दोलन गरेर आँधीबेहरी ल्याउनु पर्ने बताए।

झण्डै ७० वर्षदेखिको संविधानवाद, गणतन्त्र र उत्पीडित समुदायका पक्षमा फेरि क्रान्तिको आवश्यक पर्नसक्ने उनको भनाइ छ।

‘फेरि हिंसामा जाने भनेको होइन, हामीले लडेर स्थापित गरेका मान्यतालाई प्रतिक्रियावादीले कुल्चिन नपाओस् भनी शान्तिपूर्ण क्रान्ति वा रंगीन क्रान्ति गर्नुपर्छ, त्यतिबेला समाजका सम्पूर्ण तप्का सडकमा आउँछन्,’ उनले भने।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad