जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।
जसपा नेताहरुले शुक्रबार (आज) अपरान्ह ४ बजे प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग उनकै निवासमा पुगेर छलफल गर्ने भएका हुन्।
‘जसपा नेताहरुले दिउँसो ४ बजे सभापति देउवासँग भेटवार्ता गर्ने गरी कार्यक्रम तय भएका छ’, देउवाका स्वकीय सचिव भानु देउवाले नेपालखबरसँग भने।
जसपा शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम जसपा नेताहरुले बिहीबार साँझ प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु छलफल गरेका थिए। जसपा नेताहरुले एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
याे पनि : महत्त्वपूर्ण घडीमा संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्दै जसपा
यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि जसपा नेताहरुले नयाँ सत्ता समीकरणबारे छलफल गरेका थिए।
जसपाले दलको नेता चयन गर्न आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाएको छ।
तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भए पनि संसदीय दलमा भने एकता भएको थिएन्।
दिउँसो संसदीय दलको बैठकपछि कांग्रेससँग छलफल गर्ने जसपाका एक नेताले बताए। नयाँ सत्ता समीकरणबारे प्रमुख तीन दलसँग छलफमा रहेको जसपाले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक निर्णय भने गरेको छैन्।
याे पनि : सरकार र जसपाबीच आज निर्णायक वार्ता

प्रतिक्रिया