सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने जसपाका नेताले बताएका छन्।
बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने बताइएको छ।
जसपाले आफ्नो पार्टीका सांसदलाई यसअघि नै संसदीय दलको विधान अध्ययनका लागि दिइसकेको छ।
जसका विषयमा आजको बैठकमा आआफ्ना धारणा प्रस्तुत गर्ने र विधान पारित गर्ने जसपाको तयारी छ।
योसँगै संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने जसपाका एक नेताले जानकारी दिए।
गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो। त्यसयता संसदीय दलको नेता चयन भएको छैन।
वर्तमान ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेमा दुईधार देखिएको जसपा संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो।
यसैबीच बिहीबार साँझ मात्र बालुवाटार (प्रधानमन्त्रीको निवास) मा ३ घण्टा छलफल गरेर वार्ता सकारात्मक भएको बताएका सरकार र जसपाबीच आज पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुँदै छ।
याे पनि : प्रधानमन्त्रीसँगको छलफलमा किन सहभागी भएनन् डा. भट्टराई?

प्रतिक्रिया