राजनीति


सरकार र जसपाबीच आज निर्णायक वार्ता

सरकार र जसपाबीच आज निर्णायक वार्ता

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार २:५२,

सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको निर्णायक बैठक हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो।

जसपाका शीर्ष नेताले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। हिजोको वार्ता सकारात्मक भएपछि आज पुनः बैठक बस्न लागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

हिजोको वार्तामा ओलीले सत्तामा सहभागी भए जसपाले उठाएका सबै माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि आज दुई पार्टीले बनाएको कार्यदलस्तरको निर्णायक बैठक बस्न लागेको हो। जसपासँग वार्ता गर्न प्रधानमन्त्री ओलीले विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेता सुवासचन्द्र नेम्वाङ सम्मिलित कार्यदल बनाएका छन्। जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल कार्यदलमा छन्।

कार्यदलको आजको बैठकमा सत्ता साँझेदारीको ठोस सहमती हुने सम्भावना रहेको स्रोतले जनाएको छ। हिजो प्रधानमन्त्रीसँग भएको छलफलमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भने सहभागी भएका थिएनन्। उनी ओलीसँग सत्ता साझेदार गर्न अनिच्छुक देखिएका छन्। नेता महन्थ ठाकुरले पार्टीमा छलफल नगरी कार्यदल बनाएको भन्दै नेता भट्टराईले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

जसपाले सरकारलाई समर्थन गर्न निलम्बित सांसद रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेको छ। ओलीले ती माग पूरा गर्ने प्रतिवद्धता जनाएकाले आजको वार्तामा ठोस सहमती हुने सम्भावना रहेको स्रोतको भनाई छ।

ओली सरकारमा सहभागी हुने नहुने विषयमा जसपामा दुई धार देखिएको छ। महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता ओलीप्रति सकारात्मक देखिएका छन् भने उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतका नेता ओलीलाई समर्थन गर्नु नहुने पक्षमा उभिएका छन्।

जसपामा निलम्बनमा परेका दुई बाहेक संघीय संसदमा ३२ सांसद छन्। एमालेका १२१ सांसद संघीय संसद्मा छन्। ओलीलाई सरकार टिकाइराख्न एमालेबाहेक १८ सांसद मात्रै भए पनि पुग्ने देखिएको छ। सिंगो जसपाले समर्थन नगरे जसपाबाट महन्थ र महतो पक्षलाई फुटाएर भए पनि संसदमा विश्वासको मत लिने प्रयासमा ओली लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad