प्रतिनिधिसभाको राज्यव्यवस्था समितिका सांसदहरु बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, इटहरी क्षेत्रीय कार्यालय पुगेका थिए। त्यहाँ उनीहरुले अख्तियार कार्यालयका अधिकारीसँग छलफल गरेको भिडियो आज बिहीबार भाइरल भइरहेछ।
सांसदहरुले अनुसन्धान भइरहेका फाइल मागेको देखिन्छ। फाइल हेर्न दवाब दवाब दिएको देखिन्छ। फाइल मागेपछि सांसदहरु र अख्तियारका अधिकारीबीच सवाल जवाफ भएको भिडियोमा छ। सांसदहरूले अख्तियारको फाइल हेर्न नपाए के हेर्ने त? सांसदहरूले पटक-पटक प्रश्न गरेका छन्।
अख्तियार कार्यालय गएकाहरु राज्यव्यवस्था तथा सुशासन समिति सदस्य सांसदहरु हुन्। सांसद र अख्तियार अधिकारीबीच अनुसन्धानरत फाइलबारे चर्चा भएको हो।
हो, फाइल हेर्न खोजेको होः सांसद न्यौपाने
अनुसन्धानरत फाइलहरु देखाउन तर्क दिँदै दवाब दिने एक जना रास्वपा सांसद यज्ञमणि न्यौपाने हुन्। उनले पटक-पटक फाइल मागेका छन्। टोलीमा उनीसहित रास्वपाकी गजला शमीम मिकरानी, नेकपाका युवराज दुलाल तथा एमाले सांसद विष्णुमाया विक सहभागी थिए।
हामीले रास्वपा सांसद यज्ञमणि न्यौपानेलाई सम्पर्क गरी अख्तियारका उजुरी फाइल किन हेर्न खोज्नु भएको हो ? भनेर प्रश्न गरेका थियौँ। उनले फाइल हेर्न मागेको स्वीकार गरे।
‘दश वर्षदेखि अनुसन्धान भइरहेको भनिन्छ। ठूल्ठूला नेताहरुको अनुसन्धान भइरहेको होला। थुप्रो पैसा भ्रस्टाचारका उजुरीमा अनुसन्धान भइरहेको होला। त्यो चित्त बुझ्दो हुनुपर्यो नि। त्यस्ता फाइल हेर्न खोजेको हो। उहाँहरुले नाम भन्न मिल्दैन, नियमअनुसार फाइल देखाउन मिल्दैन भन्नुभयो। त्यही कुरा हो अरू भिडियोमा हेर्नुस् न।’

सुनसरीको झुम्कास्थित कारागार अनुगमन गरेपछि संसदीय समितिको टोली इटहरीस्थित अख्तियार कार्यालय पुगेको थियो।
पछि सन्तुष्ट हुनुभयो: अख्तियार कार्यालय प्रमुख पुरी
अख्तियार कार्यालयमा सांसदका लागि २ फरक–फरक कार्यक्रम राखिएका थिए। अनुगमन गर्ने र पछि कार्यालय प्रमुख यज्ञ पुरीले प्रस्तुतिसहित अन्तरक्रिया गर्ने तय भएको थियो। कार्यालयको प्रगतिबारे उनले प्रस्तुति दिएका थिए।
त्यसपछिको अन्तरक्रियामा सांसदहरु आक्रोशित भएका हुन्।
भिडियोमा भएको अन्तर्वस्तुलाई लिएर सार्वजनिक चासो बढेपछि हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयका प्रमुख यज्ञ पुरीसँग पनि कुराकानी गरेका थियौँ।
बुधबार त्यहाँ अख्तियार कार्यालयमा के भएको हो ?
राज्यव्यवस्था तथा सुशासन समितिका माननीयज्यूहरु आउनुभएको थियो। उहाँहरुले अनुगमन गर्नुभयो। मैले एउटा प्रस्तुति दिएपछि अन्तरक्रिया भयो। अन्तरक्रियामा सञ्चारकर्मी साथीहरु पनि हुनुहुन्थ्यो।
अनुसन्धान भइरहेको फाइल मागेको भिडियो छ। निकै रस्साकस्सी भएछ नि हगि....?
उहाँहरुले अनुसन्धान भइरहेका फाइलहरु हेर्न खोज्नु भएको थियो। हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा स्वायत्त संवैधानिक निकाय हो। कानुनअनुसार त्यस्ता फाइल देखाउन मिल्दैन भन्ने कुरा गर्यौँ।
सांसदहरुले हेर्न चाहेका फाइलहरु कुन हो?
अनुसन्धान भइरहेका फाइल निकालेर देखाउनुहोस् भन्नुभयो। संवैधानिक आयोगको आफ्नो दायरा हुन्छ। कानुनभन्दा माथि हामी जान सक्दैनौँ भन्यौँ। यही नै भन्ने थिएन।
त्यहाँ इटहरीमा अख्तियारको क्षेत्रीय कार्यालय हो। यो विवादबारे केन्द्रको भनाइ कस्तो छ? तपाइँहरुले सुनाउनु भयो होला नि? प्रमुख आयुक्त के भन्नुहुन्छ ?
हिजै हामीले रिपोटिङ गरिसकेको छौँ। नियमअनुसार गर्नुपर्ने, प्रक्रियागत रुपमा पठाउने प्रतिवेदनको काम बाँकी छ। त्यो भिडियोमा सबै देखिएको छैन। पछि उहाँ (सांसदहरु) हरु सन्तुष्ट भएर फर्किनु भएको छ। प्रमुखज्यूलाई सबै कुराको रिपोर्टिङ भएको छ।
Shares

प्रतिक्रिया