सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह आफ्नै पक्षले पाउने निश्चित भएको दाबी गरे।
तर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भने पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे कुनै निर्णय नभएको बताउँछन्।
‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन,’ थपलियाले नेपाखबरसँग भने, ‘उहाँहरु दुवै पक्ष निर्णय हुन लाग्यो भनेर घोषणा गर्नुहुन्छ।’
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। प्रचण्ड–नेपाल पक्षले आयोगमा पुगेर नाम र चुनाव चिन्हमा आधिकारिकता दाबी गरिसकेको छ।
तर, सरकारी दबाबमा परेको आयोग हालसम्म अनिर्णित अवस्थामा छ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले पनि नेकपाको दुवै पक्षको डकुमेन्ट अध्ययनकै क्रममा रहेको बताए।
‘अध्ययनकै क्रममा छ, अहिलेसम्म कुनै निर्णय भइसकेको छैन, कहिलेसम्म निर्णय गर्ने भन्ने विषयमा आयोगले सरकार र दलसँग छलफल गरिरहेको छ,’ उनले भने।
उसो भए प्रचण्डले किन त्यस्तो दाबी गरे त?
प्रचण्डले छिटो निर्णयका लागि आयोगलाई दबाब दिन र ओली पक्षमा लागेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न त्यस्तो अभिव्यक्ति दिएका हुनसक्छन्।
‘मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले भनेका थिए, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’
प्रचण्ड-नेपाल समूह केन्द्रीय समितिमा सहज बहुमतमा छ। संसदीय दलमा भने दुवै पक्षबीच टक्कर छ। दुवै पक्ष बढीभन्दा बढी सांसद आफ्नो पक्षमा तान्न प्रयासरत छन्। र, अर्को पक्षले सांसद खरिद गर्ने प्रयास गरेको आरोप लगाइरहेका छन्।
‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगलेअब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो,’ प्रचण्डले भनेका थिए।
बुधबार बस्ने केन्द्रीय समितिको बैठकपछि बहुमत केन्द्रीय सदस्यलाई सनाखत गराउन आयोग कार्यालय नै लैजाने तयारी भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

प्रतिक्रिया