राजनीति


राष्ट्रिय परिचय पत्र छपाई अनियमिततामाथि छानबिन होस्ः बडु

राष्ट्रिय परिचय पत्र छपाई अनियमिततामाथि छानबिन होस्ः बडु

नेपालखबर
साउन २३, २०७६ बिहिबार ११:४३,

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय परिचयपत्र छपाईको ठेक्कामा अनियमिता भएको भन्दै सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद बडुले सार्वजनिक खरिद ऐन र नियमावली विपरित विना प्रतिष्पर्धा परीक्षणमा लापरवाही र ढिलाई गरिएको भनिएको पुरानै फ्रान्सेली कम्पनीलाई नै मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय परिचय पत्र र पञ्जिकरण विभागले राति ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको दाबी उनले गरे। कानुन विपरित गरिएको यस सम्झौतामा निकै ठुलो रकमको चलखेल भएको आशंका गरिएको भन्दै उनले त्यसबारेको छानबिन गरी सदनलाई यथार्थ जानकारी गराउन माग गरे।

उनले भने, ‘सार्वजनिक खरिद ऐन विपरित विना प्रतिष्पर्धा ठेक्का किन गरियो? सो दिनको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दा किन सो निर्णय गोप्य राखियो? संसदीय समितिमा छलफल नै स्थगित गरिएको अवस्थामा विधेयक किन र कसरी कार्यान्वयन गरिदैँछ?’

उनले नागरिकताको प्रमाणपत्र विस्तापित गरी वितरण गर्ने भनिएको एकीकृत सूचना सहितको परिचय पत्रमा व्यक्तिका कयौँ बैयक्तिक जानकारी पनि समावेश गरिने भएकाले त्यसको दुरुपयोग भएमा राष्ट्रिय सुरक्षामा समेत खतरा पर्न सक्ने भन्दै उनले त्यसबारेको तयारीबारे सांसदहरुले जिज्ञासा उठाईरहँदा सरकारले विधेयकमाथिको छलफल रोकी धमाधम परिचयपत्र छपाई र वितरण गरेको आरोप लगाए। उनले गृहमन्त्रालय मार्फत वितरण गरिएको राष्ट्रिय परिचय पत्रहरु त्रुटीपुर्ण भएको दाबी पनि गरे।

२०७५ साल पुस २० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५ संसदमा दर्ता भएको थियो। राज्यव्यवस्था समितिमा माघ २० गते विधेयकमाथिको छलफल सुरु भएपनि केही दिनको छलफल पछि हाल सो विधेयकमाथिको छलफल स्थगित अवस्थामा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .