ad ad

राजनीति


बेइजिङमा चीनका प्रधानमन्त्रीले गरे नेपाली वैज्ञानिकसँग छलफल

बेइजिङमा चीनका प्रधानमन्त्रीले गरे नेपाली वैज्ञानिकसँग छलफल

चेतनाथ आचार्य
माघ २०, २०७७ मंगलबार १३:४२,

चीनको विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस–क्यास) को इन्टिच्युट अफ टिबेटन प्लेटो रिसर्चमा कार्यरत नेपालका डिबी कट्टेलले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग अन्तर्क्रिया गर्ने मौका पाएका छन्।

मंगलबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चीनमा कार्यरत विदेशी वैज्ञानिकहरुले चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्ने क्रममा नेपालका कट्टेलले पनि सो अवसर प्राप्त गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री लीसँग अन्तर्क्रियापछि नेपालखबरसँग कट्टेलले भने, ‘चिनियाँ प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा भेट गरेर कुरा गर्न पाउँदा गौरववोध भएको छ।’

जनवृहत सभाभवनमा कट्टेलसँगै चीनमा कार्यरत दुई दर्जन हाराहारीमा विदेशी वैज्ञानिकहरुसँग प्रधानमन्त्री लीले अन्तर्क्रिया गरेका हुन्। सो अन्तर्क्रिया कार्यक्रममा चीनमा कार्यरत अमेरिका, रुस, भारत लगायतका देशका वैज्ञानिकहरु सहभागी थिए।

कार्यक्रमको सुरुमा प्रधानमन्त्री लीलले आफ्नो मनतव्य राख्दै विदेशी वैज्ञानिकहरुले चीनको विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसाका साथ बधाई र शुभकामना व्यक्त गरेका थिए। प्रधानमन्त्री लीको मन्तव्यपछि विदेशी वैज्ञानिकको तर्फबाट दुईजनाले सम्बोधन गरेपछि खुल्ला छलफल भएको थियो।

DB Kattel BJ2

सो छलफलमा कट्टेलले नेपाल र चीनबीको सम्बन्ध तथा प्राज्ञिक क्षेत्रमा भइरहेको आदानप्रदानले नेपाललाई पनि फाइदा पुगेको औँल्याएका थिए। चाइनिज एकेडेमी अफ साइन्सेस ‘क्यास’ ले विशेष गरी हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका बारेमा खोज अनुसन्धान गरेको भन्दै यसको सोझो सम्बन्ध नेपालसँग रहेको बताएपछि प्रधानमन्त्री लीले कट्टेलको कुरा सुनेर प्रत्युत्तर दिएका हुन्।

कट्टेलले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री लीले भने, ‘चीन र नेपालबीचको सम्बन्ध युगौँ पुरानो र सुमधुर छ। हिमालय क्षेत्रको जलवायु परिवर्तनलाई चीनले उच्च प्राथमिकता दिएर खोज अनुसन्धान गरिरहेको छ। यो क्षेत्रमा चीन र नेपालबीचको सहकार्य अझै महत्वपूर्ण हुन सक्छ।’

केही समय अगाडि मात्र नेपाली र चिनियाँ प्राविधिक टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो। उक्त कार्यलाई चीनले निकै महत्व दिएको सन्दर्भमा हिमाली क्षेत्रको जलवायु परिवर्तनको कुरा कट्टेलले उठाएपछि चिनियाँ प्रधानमन्त्री लीले विशेष चासो दिएर प्रतिक्रिया दिएका हुन्।

लगभग डेढ घण्टा अन्तर्क्रिया कार्यक्रम चलेको थियो। कार्यक्रम सकिएपछि हिँड्ने बेलामा पनि प्रधानमन्त्री लीले ‘ओ नेपाल’ भन्दै हात हल्लाएको कट्टेलले बताए।

DB Kattel BJ

प्रधानमन्त्री लीसँगको अन्तर्क्रियामा भाग लिने भएपछि कट्टेल लगायतका विदेशी वैज्ञानिकहरुलाई बेइजिङ ओलम्पिक पार्क नजिकैको ‘फरेन एक्स्पर्ट’ होटलमा आइतबारदेखि ४८ घण्टे क्वारेन्टिनमा राखिएको थियो। चीनमा पछिल्लोपटक कोरोनाको महामारी फेरि देखिएपछि स्वास्थ्य सुरक्षालाई उच्च सतर्कता दिइने गरेको छ।

प्रधानमन्त्रीसँगै भेट गर्ने भएपछि होटलमा लगेर न्युक्लिक एसिड लगायत सबै परीक्षण गरिएको कट्टेलले बताए। नेपालबाट आएको उच्चस्तरीय राजनीतिक प्रतिनिधिमण्डल र नेपाली दूताबासमा कार्यरत कुटनीतिज्ञबाहेक चीनमा कार्यरत नेपालीका रुपमा चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्ने संभवत कट्टेल पहिलो व्यक्ति हुन्।

भोजपुरको दिङ्लाका डिबी कट्टेलले सन् २०१२ मा क्यासबाटै नेचुरल साइन्समा पिएचडी गरेका हुन्। चीनबाट पिएचडी गरी उनी एक वर्षे पोष्ट डक्ट गर्नका लागि जर्मनी गएका थिए। जर्मनीबाट सन् २०१३ को अन्तमा फर्किएर पाकिस्तानको हायर एजुकेसन कमिसनको निमन्त्रणामा विदेशी प्राध्यापकका रुपमा कमस्याट विश्वविद्यालयमा तीन वर्ष काम गरेपछि उनी सन् २०१६ मा क्यासमा एसोसिएट प्रोफेसरको रुपमा रिसर्चको काम गरिरहेका छन्।

उनले आफ्ना रिसर्चका बारेमा दर्जनौं आलेखहरु अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .