राजनीति


ओलीले विप्लव नेता भेट्न मन्त्री पठाएपछि प्रचण्ड–नेपालका नेताको यस्तो टिप्पणी

ओलीले विप्लव नेता भेट्न मन्त्री पठाएपछि प्रचण्ड–नेपालका नेताको यस्तो टिप्पणी

नेपालखबर
माघ २०, २०७७ मंगलबार ७:४९,

खानेपानीमन्त्री मणि थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेको विषयमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य युवराज चौलागाईंले तीखो टिप्पणी गरेका छन्।

प्रवास कमिटीका अध्यक्ष समेत रहेका चौलागाईंले मंगलबार मध्याह्न सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्रको जस्तै शैली अपनाएको टिप्पणी गरेका हुन्।

उनले तत्कालीन राजा महेन्द्रले जस्तै ओलीले आफैँ थुन्ने र फेरि आफैँले सहानुभूति दिएझैँ गरेको भन्दै नाटक गरेको बताएका छन्।

‘नेकपा (विप्लव समूह) विरुद्ध प्रतिबन्धको घोषणा ओली सरकारको दक्षिणपन्थी अतिवादी कदम थियो’, चौलागाईं लेख्छन्, ‘एकातिर देशमा भर्खरै नयॉ संविधान जारी भई नयॉ र प्रगतिशील राजनैतिक व्यवस्था लागू भएको अवस्था र अर्कोतिर बीआरआई र आईपीएसको प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा ओली सरकारको कदमले मुलुकलाई किमार्थ फाइदा गर्दैन भनेर मैले पार्टीभित्र, सरकारलाई र सार्वजनिक रुपमा समेत छलफल चलाएको थिएँ।’ 

नेकपा (विप्लव समूह) बिरुद्ध प्रतिबन्धको घोषणा ओली सरकारको दक्षिणपन्थी अतिवादी कदम थियो । एकातिर देशमा भर्खरै नयॉ संबिधान...

Posted by Yubaraj Chaulagain on Monday, February 1, 2021

त्यो काम संविधानको ‘स्पिरिट’ र देशको आवश्यकताबाहिरको रहेको त्यतिबेलै आफूले भनेको चौलागाईंको दाबी छ।

‘तैपनि केपी ओली र राम बहादुर थापाको गलत दृष्टिकोणका कारण विप्लवको दलमाथि प्रतिबन्ध मात्र लगाइएन, आस्थाको आधारमा सयौँ गिरफ्तारीले मात्र नपुगेर झूठो मूठभेडमा कुमार पौडेललगायत राजनैतिक व्यक्तिहरुको गैरन्यायिक हत्या समेत गरियो’, उनी अगाडि लेख्छन्, ‘अहिले केपी ओली कुन नैतिकताले विप्लवप्रति नरम भएको नाटक गर्दै छन्?’

मन्त्री थापाको कदमप्रति संकेत गर्दै उनले मन्त्रीहरु जेल चहारेर अन्यायपूर्वक थुनिएका राजनैतिक नेताहरुसँग संवादको नाटक गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘यो त राजा महेन्द्रले गरेको जस्तो आफैँ थुन्ने, आफैँ सहानुभूति दिने नाटक भएन र?

खानेपानी मन्त्री थापाले मंगलबार बिहान ललितपुरको नख्खु कारागार गएर विप्लवका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए।

एनसेलको कार्यालयमा बम विष्फोट गराएको आरोपमा वली पक्राउ परेका थिए। सोही अभियोगमा उनी नख्खु कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad