नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
बास्तोलाकी पत्नी हिमाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रहरी प्रधान कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकले माग गरेबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू।’
यस्तै सर्वोच्चको आदेशमा बास्तोलाउपर कुनै कसुरमा अनुसन्धान भइरहेको भए सोको सक्कल मिसिलसमेत लिई उपस्थित हुन भनिएको छ।
बास्तोलासहित विप्लव नेतृत्वको नेकपाका चार जनालाई प्रहरीले ललितपुरको दक्षिणी क्षेत्रबाट पुस २९ गते पक्राउ गरेको थियो। उनी विप्लव नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता हुन्।
बास्तोलालाई नक्खु बम बिस्फोटलगायत हात–हतियार तथा खरखजना र कर्तव्य ज्यान मुद्दामा प्रहरीले मुद्दा अगाडि बढाएको छ।

प्रतिक्रिया