जारी सीमा विवाद समाधानका लागि भारत र चीनबीच आज नवौं चरणको वार्ता भइरहेको छ।
झन्डै अढाई (साढे २) महिनापछि आज दुई देशबीच सैनिक कमान्डरस्तरीय वार्ता भइरहेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनले वार्तामा नेतृत्व गरेका छन्।
बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा भइरहेको हो।
वार्तामा विदेश मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतका एक वरिष्ठ अधिकारीका अनुसार नवौं चरणको यो वार्तालाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ। किनकि यो वार्तामा सीमा विवाद समाधानका लागि दुई पक्षबीच लिखित सम्झौता हुने सम्भावना छ।
दुई देशको सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा गत जुन १५ तारिख दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन।
त्यसयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ। समाधानका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसै क्रममा आज दुई देशका सैनिक कमान्डरबीच नवौं चरणको वार्ता आयोजना गरिएको हो।

प्रतिक्रिया