कारोबार


अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन

अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन

नेपालखबर
माघ ११, २०७७ आइतबार ६:२३,

सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन्।

अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

‘केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न’, प्रजिअ पौडेलले भने, ‘उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुनसकेको छैन।’

उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव रु १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो। ‘उद्योगले किसानको भुक्तानी दिन करीब रु १७ करोड बाँकी रहेको बताएको थियो’, प्रजिअ पौडेलले भने।

यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो। अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा रु एक करोड ७३ लाख रहेको छ। उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहेको प्रमुख राठौरले बताए।

उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ। ‘किसानको उखुको बाँकी बक्र्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु’, उनले भने, ‘किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्कबिहीन भएपछि निकै समस्यामा परेको छु।’

अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो। उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन्। जिल्लाकै गोडैता नगरपालिका अन्तर्गत बगदहमा रहेको महालक्ष्मी सुगर मिलले भने किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ।

प्रजिअ पौडेलले महालक्ष्मी सुगर मिलले किसानको गत विगत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए। भने यता उद्योगीलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवन ११ मा रहेको ईन्दुशंकर चिनी मिलले यसवर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरिसकेको जनाएको छ।

गत वर्षमा जिल्लाको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको जनाउँदै आन्दोलन चलिरहेको भए पनि ईन्दुशंकर चिनी मिलले भने चालू सिजनकै भुक्तानी दिएपछि उखु उत्पादक किसान दंग भएका छन्। किसानलाई भुक्तानीमा खासै झन्झट नदिएको ईन्दुशंकरले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो।

गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले यही माघ २ गतेसम्म आउदा करिब सात लाख २६ हजार २०० क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका उखु प्रबन्धक योग नारायण रजकले जानकारी दिए। पुस २९ गतेसम्मको उखु खरीदबापतको रकम करीब रु ३२ करोड भुक्तानी गरिसकेको उनले जानकारी दिए।

उद्योगले किसानलाई तीन पटकमा गरी रु ३२ करोड भुत्तानी दिएको हो। दुई पटक १२/१२ करोड र एक पटक रु ८ करोड गरी तीन पटकमा जम्मा रु ३२ करोड भुक्तानी गरिसकेको प्रबन्धक रजकले बताए। यस वर्ष सरकारले उखुको मूल्य कायम नगरे पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी दिएको उद्योगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad