ad ad

राजनीति


गोस्वामीको विषयमा पाकिस्तानी प्रधानमन्त्रीको पनि प्रतिक्रिया, मोदीको गरे आलोचना

गोस्वामीको विषयमा पाकिस्तानी प्रधानमन्त्रीको पनि प्रतिक्रिया, मोदीको गरे आलोचना

नेपालखबर
माघ ५, २०७७ सोमबार १०:२,

यसबीचमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि गोस्वामीको विषयमा प्रतिक्रिया जनाएका छन्। खानले मोदी सरकारको चर्को रुपमा आलोचना गरेका छन्।

गोस्वामीको वाट्सएप च्याटमा बालाकोट हमलाको विषय उल्लेख भएपछि खानले भारतविरुद्ध आफ्ना भनाइहरु राखेका हुन्।

उनले मोदीले चुनाव जित्नकै लागि भारतीय मिडियालाई आफ्नो मुठ्ठीमा लिएको उल्लेख गरेका छन्।

खास कुरा के हो?

रिपब्लिक टिभीका प्रधान सम्पादक रहेका गोस्वामीमाथि टेलिभिजनको टीआरपी बढाउन अवैध कार्य गरेको आरोप लागेको छ। टीआरपी बढाउन टीआरपी कम्पनीलाई पैसा तिरेको आरोप लागेपछि यसअघि उनलाई हिरासतमै लिइएको थियो।

हाल जमानतमा छुटेका उनको र टीआरपी कम्पनी बार्कका पूर्व प्रमुख कार्यकारी अधिकृत पार्थो दासगुप्ताबीचको वाट्सएप च्याट यतिबेला मुम्बई प्रहरीले प्राप्त गरेका छन्।

उक्त च्याटमा गोस्वामीले टीआरपी बढाउने विषयमा दासगुप्तासँग कुरा गरेका छन् भने त्यहाँ भारतीय जनता पार्टीका मन्त्रीहरुसँग रहेको उनको सम्बन्धको विषयमा पनि कुराकानी भएको बताइएको छ।

च्याटमा गोस्वामीले देशका मन्त्रीहरु आफ्नै सहयोगी भएको बताएका छन्। यस्तै उक्त च्याटमा पाकिस्तानको बालाकोटमा भएको सर्जिकल स्ट्राइककोबारेमा पनि कुराकानी भएको बताइएको छ।

भारत प्रशासित जम्मु कस्मिरको पुलुवामा भएको आक्रमणपछि पाकिस्तानको बालाकोटमा भारतले हवाई आक्रमण गरेको थियो। पुलुवामा आक्रमणमा पाकिस्तानस्थित आतंकवादी जैस–ए–मोहम्मद समूह संलग्न थिए। सो आक्रमणमा ४० भारतीय सेनाको मृत्यु भएको थियो।

उनीहरुबीचको वाट्सएप च्याटमा गोस्वामीलाई बालाकोटमा हुने हमलाको बारेमा पूर्व जानकारी भएको देखिन्छ। साथै जम्मु–कस्मिरको विशेषाधिकार हटाउने विषयमा पनि गोस्वामीलाई पूर्व जानकारी भएको च्याटले संकेत गर्ने बताइएको छ।

यसबीचमा भारतमै विपक्षी पार्टीका सांसदहरुले यी सरकारको उच्चस्तरीय निर्णयहरु गोस्वामीलाई कसरी थाहा भयो भनेर प्रश्न गरिरहेका छन्। राष्ट्रिय सुरक्षाको विषय मन्त्रीहरुले नै एउटा पत्रकारलाई चुहाउनु देशकै लागि खतरा भएको उनीहरुको भनाइ छ।

यी सूचना गोस्वामीले पाकिस्तानलाई दिएको भए के हुन्थ्योरु भनेर पनि प्रश्न गर्न थालिएको छ। गोस्वामी मोदी समर्थक मानिन्छन्। उनले आफ्नो टेलिभिजनमा प्रधानमन्त्री मोदीको विषयलाई निकै प्राथमिकता दिएर प्रसारण गर्दछन्।

पाकिस्तानी प्रधानमन्त्री के भन्छन्?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि ट्वीटमा गोस्वामीबारे प्रतिक्रिया जनाउँदै मोदी सरकारको आलोचना गरेका छन्।

ट्वीटमा खानले भनेका छन्,‘सन् २०१९ को संयुक्त राष्ट्रसंघको महासभामा मैले भनेको थिए कि भारतको फाँसिवादी मोदी सरकारले बालाकोटलाई प्रयोग गरेर चुनावी फाइदा लिन खोजेका थिए। एक भारतीय पत्रकारको कुराकानीले मोदी सरकार र भारतीय मिडियाबीच भएको गलत सम्बन्ध बयान गरिदिएको छ।’

उनले अर्को ट्वीटमा भनेका छन्,‘यसकारण चुनाव जित्नका लागि एक खतरनाक सैन्य दुस्साहसको स्थिती सिर्जना भयो। पाकिस्तानले बालाकोट मामिलामा जिम्मेवार र सन्तुलित प्रतिक्रिया दियो त्यसकारण ठूलो संकट पैदा हुनबाट रोकियो।’

खानले चुनाव जित्नकै लागि मोदीले भारतीय संचार माध्यमलाई गलत रुपमा प्रयोग गर्ने गरेको र गोस्वामीवको टेलिभिजनले मोदीकै आदेशमा युद्ध भड्काउने सामग्री प्रसारण गरेको आरोप लगाएका छन्।

भारत सरकारको हरेक षड्यन्त्रलाई पाकिस्तान सरकारले पर्दाफास गर्ने खानको भनाइ छ। भारतको युद्ध भड्काउने विवेकहीन सैन्य एजेन्डालाई विश्व समुदायले रोक्नु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .