ad ad

कारोबार


जगदम्बा मोटर्सद्वारा प्रहरी बोलाएर कम्पनीमा पुनर्बहाली माग गर्ने कर्मचारीमाथि धरपकड

जगदम्बा मोटर्सद्वारा प्रहरी बोलाएर कम्पनीमा पुनर्बहाली माग गर्ने कर्मचारीमाथि धरपकड

नेपालखबर
माघ ५, २०७७ सोमबार ९:५९,

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले पुलिस लगाएर आफ्ना कर्मचारीलाई गिरफ्तार गराएको छ।

टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले विना कारण निकालेको भन्दै कम्पनीमा आन्दोलन गर्नपुगेका कर्मचारीलाई गिरफ्तार गराइएको हो।

टीभीएसको आधिकारिक वर्कशप नक्सालमा काम गर्ने १५ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो। वर्कशपका कर्मचारी कोभिड १९ को समयमा विना कारण निकालेको भन्दै आन्दोलन गरिरहेका छन्।

‘कम्पनीले २० जना कर्मचारीलाई विना कारण निकालेको छ’, आन्दोलनकारी कर्मचारी सुदिनले नेपालखबरसँग भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हो। हामीले काम गरी खान पाउनुपर्छ भन्ने माग छ।’

टीभीएस मोटर्सले निकालेका २० जनामध्ये १५ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

jagdamba dharpakad 225

‘हामीले ब्यानरसहित शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम रहेको थियो। साथीहरु जम्मा हुनेबित्तिकै सञ्चालकले प्रहरी बोलाएर धरपकड सुरु भयो’, सुदिनले भने, ‘जगदम्बा मोटर्सले विना कारण कर्मचारी निष्काशन गरेको छ। पुनः स्थापना गर्नुपर्छ।’

कर्मचारीहरूले शान्तिपूर्ण विरोध गर्न पनि नदिएको भन्दै आक्रोश पोखेका छन्। लामो समय जगदम्बा मोटर्समा सेवा गरेका कर्मचारीसँग वार्ता गर्न छाडेर पुलिस लगाएर पक्राउ गरेको उनीहरुको दुःखेसो छ।

प्रहरीपरिसर काठमाडौंले जगदम्बा मोटर्सले उजुरी गरेपछि पक्राउ गरेको बताएको छ।

jagdamba dharpakad 223

‘जगदम्बा मोटर्स कम्पनीले शोरुममा ताला लगाउन लागेको भन्दै उजुरी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो’, टेकु प्रहरी परिसरका डीएसपी प्रमेश विष्टले नेपालखबरसँग भने, ‘हामीले १५ जनालाई नियन्त्रयणमा लिएर पुलिस क्लबमा राखेका छौँ।’

प्रहरी कार्यालयका अनुसार प्रकाउ परेका १५ जनालाई दिनभर हिरासतमा राखी साँझ ६ बजेपछि छाड्ने तयारी छ।

यसैबीच, मजदुर युनियन नाट्टुका पूर्वअध्यक्ष माधव पाण्डेले जगदम्बा मोटर्सले अमानवीय काम गरेको बताए।

‘कोरोना वा लकडाउनको बेला कम्पनी डामाडोल भन्ने छैन। अन्य व्यवसायको तुलनामा यो बेला पनि दुईपांग्रेको व्यवसाय राम्रो रहेको छ’, पाण्डेले नेपालखबरसँग भने, ‘बिक्री झन् बढेको बेला कर्मचारी निकालेर बिचल्ली पार्ने काम भएको छ।’

उनले कोभिडको कारण अप्ठ्यारोमा परेका कर्मचारीलाई सहयोग गर्नुपर्ने ठाउँमा कर्मचारी निकाल्नु आपत्तिजनक भएको बताए।

‘हामी युनियनले कम्पनीको कदमविरुद्ध आपत्ति र भर्त्सना गर्छौँ, माग सम्बोधन नभए सबै संगठन मिलेर आन्दोलन हुन्छ’, उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .