नेकपाको प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगले दलको आधिकारिकता मागदाबी गर्न भन्दै पठाएको पत्रलाई अस्वाभाविक र असान्दर्भिक भन्दै जबाफ पठाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार प्रचण्ड नेपाल समूहले आयोगलाई पठाएको हो।
गएको शुक्रबार आयोगले कानुनअनुसार प्रक्रिया पुर्याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भन्ने व्यहोराको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो। दाहाल–नेपाल पक्षले आयोगले पठाएको पत्रको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको जनाएको छ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो। दुवैतिर पत्रको व्यहोरा फरक छ।
ओली पक्षसँग आयोगमा बुझाइएको विवरणका विषयमा स्पष्टता खोजिएको छ। त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको छैन। तर, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपालाई पठाएको पत्रमा भने राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता मागदाबी गर्न भनिएको छ।
आयोगले फरक फरक वेहोराको पत्र पठाएपछि प्रचण्ड नेपाल पक्ष झस्किएको छ। कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बन्ने अवस्था आएको आयोग स्रोतले जनाएको छ।

प्रतिक्रिया