ad ad

राजनीति


मुख्यमन्त्रीले भीम रावलको दबाब थेग्न नसकेर मलाई हटाउनुभयो: बोहरा

मुख्यमन्त्रीले भीम रावलको दबाब थेग्न नसकेर मलाई हटाउनुभयो: बोहरा

सागर न्यौपाने
पुस १४, २०७७ मंगलबार ७:७,

केपी शर्मा ओली र प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विवाद चुलिएका बेला त्यसको असर सुदुरपश्चिम प्रदेश सरकारमा पनि परेको छ।

सुदुरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार पदमुक्त गरिदिएपछि विवाद थप चर्किएको छ।

प्रदेशमा बहुमतमा रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले मंगलबार ओली पक्षका बोहरालाई हटाएको बताइएको छ।

यसै विषयमा पदमुक्त गरिएका मन्त्री बोहरासँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

तपाईंलाई त मुख्यमन्त्रीले बर्खास्त गर्नुभएछ त?
मैले पनि मिडियाबाट जानकारी पाएँ। म अहिले काठमाडौं आएको छु। यस बारेमा मलाई आधिकारिक जानकारी, पत्र दिइएको छैन। मुख्यमन्त्रीजीले ल है, अब तीन वर्ष सँगसँगै काम ग¥यौं तपाईंलाई पदमुक्त गर्न यी कारणले आवश्यकता पर्‍यो, अब मैले पदमुक्त गर्दैछु भन्नेसम्म पनि जानकारी गराउनुभएन।

अब पदमुक्त भएको मुख्यमन्त्रीको सचिवालयले भनिसकेको छ, तपाईँको प्रतिक्रिया के छ?
नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद हुँदै आए। एकथरी नेताहरुले पार्टीको सरकारलाई असहयोग गर्ने जुन गतिविधि भयो र त्यसपछि पार्टी विभाजन हुने अवस्थामा पुग्यो, त्यसका आधारमा म प्रधानमन्त्री केपी शर्मा ओली ज्युले नेतृत्व गर्नुभएको नेकपा संस्थापन पक्षमै म आवद्ध छु। यसैका आधारमा उहाँहरुले मलाई पदमुक्त गर्नुभएको हो भने त्यो उहाँहरुको कुरा भयो।
त्यसमा मैले भन्नु केही छैन। अब कारण त केही पनि छैन।

भनेपछि पार्टीभित्रको विवादले तपाईंले मन्त्री पद नै गुमाउनुपर्‍यो?
उहाँहरुले पुर्वाग्रह राख्नुभयो, यो त प्रष्ट देखिन्छ। म उहाँहरुसँग जान सकिन। मैले भीम रावललाई समर्थन गर्न सकिन। मुख्यमन्त्रीजीले भीम रावलको प्रेसर थेग्न सक्नुभएन कि? त्यसका आधारमा होला, अरु त मलाई हटाउनुपर्ने केही कारण नै छैन। प्रदेश सरकारमा मैले सबैभन्दा राम्रो काम गरेको छु। विकास निर्माणका हिसावले पनि धेरै काम हुने मन्त्रालय हो र काम भएको पनि छ। मलाई कामको हिसावले, अनुशासनको आधारमा हटाइउनुपर्ने, कारवाही गर्नुपर्ने, पदमुक्त गर्नुपर्ने त्यस्तो त केही पनि छैन। त्यही राजनीतिक प्रतिशोध नै साँधिएको होला।

तपाईंहरुले यो कदमविरुद्ध कस्तो स्टेप चाल्नुहुन्छ?
आगामी रणनीति बन्छ। म काठमाडौंबाट फर्किसकेपछि साथीहरुसँग सरसल्लाह गरेर अगाडि बढ्ने छौं। अब हाम्रो पार्टीले पनि यसबारेमा केही योजना बनाउँछ।

भनेको अविश्वास प्रस्ताव पनि ल्याउनुहुन्छ?
त्यसबारेमा अहिले नै ठोस निर्णय भइसकेको छैन। उहाँहरुले यस्तो खालको आग्रह पूर्वाग्रह राख्ने खालको कामको सुरुवात गरेपछि अर्काे पक्षले पनि चुप लागेर बस्दैन होला नी त।

संसदीय गणितको आधारमा पनि राजनीतिक पूर्वाग्रह राखिएको होला?
उहाँको मनमा लागेको कुरा त कसरी भनौं र तर उहाँहरुसँग नै बहुमत छ भन्ने त्यस्तो प्रमाण केही छैन। किनभने उहाँहरु नै पार्टीबाट अलग भएर सडकमा जानुभएको छ। त्यसकारणले पार्टी विभाजन गर्नेहरुसँग हाम्रो प्रदेश सभामा भएका माननीय सदस्यहरु पनि जानुहुन्न भन्ने मेरो सिधा हिसावको बुझाई हो। संस्थापन छोडेर पार्टीबाट चोइटिएर अर्थात् अलग भएर जानेहरुसँग सुदुरपश्चिम प्रदेशसभामा रहनुभएका सदस्यज्युहरुपनि जानुहुन्न भन्ने मेरो बुझाई हो।

यस विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्नुहुन्छ अब?
पार्टीको नेतृत्व भएकाले उहाँसँग सल्लाह हुन्छ। त्यो मात्र होइन हाम्रो प्रदेशको नेतृत्व (लेखराज भट्ट) सँग पनि यसबारेमा सल्लाह गर्नुपर्ला।

यो पनि : 
सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री ओलीनिकट मन्त्री बर्खास्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .