नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बल्खु पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।
बिहीबार आफ्नो समूहको केन्द्रीय समिति बैठकपछि अध्यक्षद्वय प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता अमृतकुमार बोहरा लगायतका नेताहरु बल्खु पुगेका थिए।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकताबारे केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेको सन्दर्भमा मदन भण्डारीको सालिकमा माल्यार्पण गरी सच्चा कम्युनिस्टको एकता आवश्यकता छ भन्ने सन्देश देशभर सञ्चार गर्न आफूहरु बल्खु आएको बताए।
मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि उनले गतवर्ष आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको सो स्थानमा कम्युनिस्ट भाव झल्कने खालको सुविधासम्पन्न कार्यालय बनाउने निर्णयको स्मरण समेत गरे।
‘पोहोर साल मेरै अध्यक्षता बसेको केन्द्रीय समितिको दोस्रो बैठकले यो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिस्टको भाव झल्कने खालको राम्रो कार्यालय बनाउने निर्णय गरेको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘त्यो निर्णयलाई स्मरण गराउनका निम्ति तेस्रो केन्द्रीय समितिको बैठकपछि हामी आएका छौँ।’
अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहरा बल्खुमा
पार्टीमा फूटसँगै अर्काे समूहका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा गएको भन्दै नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताएका थिए।
नेपाल–प्रचण्ड समूह बिहीबार बल्खु गएर ओलीको भनाइलाई जवाफ दिन खाेजेकाे देखिन्छ।
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष कमरेड माधव नेपाल लामो समयसम्म सोही ठाउँको पार्टी कार्यालयमा महासचिवको हैसियतमा एमालेको नेतृत्व गरेको स्मरण गर्दै तेस्रो केन्द्रीय समितिको अहिले जारी बैठकले नेपाललाई अध्यक्षमा निर्वाचित गरेको सन्दर्भ पनि योसँग जोडिएको बताए।
उनले अप्राकृतिक र असंवैधानिक तरिकाबाट संसद विघटन गरिएको भन्दै यो निर्णय लोकतन्त्र, गणतन्त्र र अहिलेसम्म कम्युनिस्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्ध षड्यन्त्रका रुपमा आएकाे भन्दै यसलाई सफल पार्न नदिने सन्देश दिन आफूहरु बल्खु आएको बताए।
‘संसद असंवैधानिक र अप्राकृतिक हिसाबले विघटन गरियो, यो लोकतन्त्र, गणतन्त्र र अहिलेसम्म कम्युनिस्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्ध षड्यन्त्रका रुपमा रहेकाे छ’, उनले भने, ‘यसलाई हामी सफल हुन दिन्नौँ भन्ने कुरा पनि हामीले पारित गरेका छौँ, यहाँ आएर पनि हामी त्यो संकल्प दोहोर्याउन चाहेका हौँ।’
वरिष्ठ नेता झलनाथ खनालले बल्खुकाे साेहि ठाउँमा अब आफूहरुले केन्द्रीय कार्यालय स्थापना गर्ने बताए।
भिडियो:
Shares

प्रतिक्रिया