समाज


रक्सी खाने क्रममा भएको झगडाले लियो ज्यान, काका भतिज पक्राउ

रक्सी खाने क्रममा भएको झगडाले लियो ज्यान, काका भतिज पक्राउ

नेपालखबर
पुस ९, २०७७ बिहिबार १२:४५,

झापामा काका भतिज मिलेर एक व्यक्तिको हत्या गरेको खुलेको छ। झापाको मेचीनगर ९ का ४२ वर्षीय पुलिस भन्ने पर्शुराम गौतम पुस ३ गते बिहान घरको आँगनमा शरीर तथा लुगासमेतमा रगत लागेको र चोटपटक लागि टाउको फुटेको अवस्थामा फेला परेका थिए।

अघिल्लो साँझ रक्सी खाने क्रममा झगडा हुँदा उनी मारिएको पुष्टि भएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। झापा प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय ४७ वर्षीय बुधलाल किसान र उनका भतिज २८ वर्षीय भयंकर भन्ने भुखन किसानलाई पक्राउ गरेको छ। पक्राउ परेका काकाभतिजलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

स्थानीयले घर नजिक शव देखेपछि तत्कालै टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी दिएका थिए। धुलाबारीबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको थियो।

घटना अनुसन्धानका लागि संघीय ईकाइ प्रहरी कार्यालय धरान, सुनसरीबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। ईलाका प्रहरी कार्यालय काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा काका भतिजबाट हत्या भएको खुलेको हो।

पुस २ गते राति मृतक पर्शुराम गौतमको घरमा रातिसम्म बसी रक्सी खाएको खुलेको थियो। तर पर्शुरामको हत्यापछि दुवैजनाले गाउँ छाडेका थिए। हत्याका क्रममा घरमा भएको माछा मार्ने ढोक्सा समेत आगोमा जलाई नष्ट गरेका थिए।

तर प्रहरीले पुस ७ गते काका बुधलाललाई गाउँमै फेला पारेको थियो। बुधलालले आफूहरु रक्सी खाइरहेको समयमा भतिज आएको र त्यसक्रममा झगडा हुँदा पर्शुरामको हत्या भएको बताएका थिए।

पर्शुरामलाई कुटपिट गरेर भतिज भने घरतर्फ गएका थिए। कुटपिटबाट गम्भीर घाइते भएका पर्शुरामको ज्यान गएको थियो। घटनाका समयमा लगाएका लुगा भने उनले काकाको घरमा फुकालेर गएका थिए।

रगत लागेको ढोक्सा भने काकाले आगोमा जलाएका थिए।

भतिजले कुटपिट गरी कर्तव्य गरी मारेको बुधलालले बताएका थिए। प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो। भतिजो भुखन किसान भने ७ गते मेचिनगर नगरपालिका ६ काकरभिट्टामा फेला परेका थिए। उनीहरुले हत्या गरेको स्वीकार गरेका छन्।

जिल्ला अदालत झापाबाट ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad