नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताए।
उनले भने, ‘आजको बैठकको शुरुमै पार्टीका सभापति शेरबहादुर देउवाले पुस १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएर बैठकले निर्णय गरिसकेको छ।’
कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए। यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताए।
व्यक्तिगत रुपमा कुनैपनि नेताले आफ्नो विचार राख्नु भएपनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको बताए। पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बिचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पारे।
Shares

प्रतिक्रिया