राजनीति


नेकपाका नेता-कार्यकर्ता हाँस्न छाडेको नारायणकाजीको गुनासो

नेकपाका नेता-कार्यकर्ता हाँस्न छाडेको नारायणकाजीको गुनासो

नेपालखबर
जेठ ३१, २०८३ आइतबार २१:१४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले अचेल आफ्नो पार्टीमा हाँसेर बोल्ने नेता-कार्यकर्ता भेट्नै मुस्किल पर्न थालेको बताएका छन्। 

पूर्वमन्त्री तथा वामन्थी नेता डीआर पौडेललेको स्मृतिमा आइतबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टीमा निराशा बढेको र त्यसले आफ्नो पार्टीका नेता कार्यकर्ताको हाँसो हराएको बताए। 

‘अब त हाम्रो पार्टीमा हाँस्ने साथीहरु पाउनै गाह्रो भइसक्यो। अघि बाहिर एक जना साथीले हाँसेर कुरा गर्दा मलाई निकै खुसी लाग्यो,’ उनले भने, ‘अचेल त साथीहरुको हाँसो पनि देख्न पाइँदैन। सबै अँध्यारो, निहाउरो मुख लगाएर, कुण्ठित र निरास भएर मात्रै बसेको देखिन्छ। मलाई भेट्न आउने साथीहरु पनि अधिकांश त्यस्तै देख्छु। यसरी पार्टी र जीवन चल्दैन। आफूलाई क्रान्तिकारी बनाइराख्ने हो, जति सकिन्छ, त्यति गर्ने हो। गर्न सकिएन भनेर पिर मान्ने होइन, जीवनलाई कसरी बुझ्ने भन्ने पनि प्रश्न हो यो। नत्र सही जीवन विताउन सकिँदैन।’

उनले अहिले पार्टी वैचारिक र सांस्कृति रुपमा अत्यन्तै कमजोर अवस्थामा पुगेको बताए। पछिल्लो चुनावी परिणाममा पनि त्यो देखिएको श्रेष्ठको भनाई थियो। 

‘यतिबेला समाजवाद विरोधी दक्षिणपन्थी, लोकप्रियतावादी शक्ति हावी भएको छ। साम्राज्यवादी शक्तिहरु नेपालको राष्टिय स्वाधिनताको इतिहासमा कहिल्यै देखा नपरेको ढंगले आक्रामक बनेर आएका छन्,’ उनले भने, यो सबै देख्दा साथीहरुमा पनि निराशा बढेको देख्छु। जसले हाम्रा नेता कार्यकर्ताको हाँसो हराएको छ।’

आफूले भेटेका साथीहरुलाई हाँस्न प्रेरित गरिरहेको पनि उनले बताए।

‘अलिकति हाँसौँ न हो कमरेडहरु, किन निहाउरो मुख लगाउनु हुन्छ?,’ उनले भने, ‘अब त सिद्धियो भन्ने, दुःख मान्ने गरेको देख्छु। धेरै साथीहरुमा निराशा, कुण्ठा देखिन्छ। एउटा क्रान्तिकारीको हिसावले हाँसेरै परिस्थितिको सामना गरौँ न। हामीले जति सकिन्छ, त्यति हो गर्ने, भाग्ने होइन।’

उनले क्रान्तिकारी उत्साहका साथ सत्य कुरालाई पक्रँदै फेरि अघि बढ्नुको विकल्प नभएको बताए।

‘पहिलो कुरा हामीले कम्युनिस्ट क्रान्तिकारीको रुपमा आफूलाई बचाउनु पर्छ,’ उनले भने, ‘दोस्रो कुरा यो पार्टीको रुपान्तरणको लागि जति भूमिका खेल्न सकिन्छ, त्यो गरौँ। आफूले इमानदारीतापूर्वक भूमिका निर्वाह गर्दा पीढा नमानौँ, अप्ठ्यारो अवस्थाको सामना गर्नु पर्यो भने पनि धेरै दुःखी नबनौँ। अर्काको कारणले हामी किन दुःखी हुने? गैर क्रान्तिकारी प्रवृत्तिले अप्ठ्यारो पार्यो त अब लड्ने हो सकेसम्म। आफूले गर्दा पनि भएन भने दुःखी, निरास नहुनुस्, कुण्ठित नहुनुस्। हाँसेरै क्रान्तिकारी जीवन विताउनुस्।’

उनले प्रतिकूल अवस्थामा पनि कसरी टिक्ने भन्ने कुरा डीआर पौडेलको जीवनबाट पनि सिक्न सकिने बताए।

‘कसरी सरल क्रान्तिकारी जीवन, विताउने, कसरी दुःख कष्ट पर्दा पनि अघि बढ्ने र आफूले सकेको गरिरहने त्यो हामीले डीआरजीको जीवनबाट सिक्न सक्छौँ,’ उनले भने, ठिकको पक्षमा निरन्तर लागिरहँदा अवश्य सफल भइन्छ। निराश नबनौँ। आफूलाई निराश र पलायनवादी दृष्टिकोणबाट मुक्त गरेर अघि बढौँ, सफल भइन्छ।’

कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका नेता लीलामणि पोख्रेलले डीआर पौडेलको विचारप्रतिको दृढता र वर्गीय पक्षधरता क्रान्तिकारीहरुको लागि प्ररणाको स्रोत रहेको बताए। 

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका नेता गिरीराजमणि पोखरेलले डीआर पौडेलको स्मृति ग्रन्थ तयार गर्नको लागि काम अघि बढेको जानकारी दिए। 

कार्यक्रममा नेकपाका नेता प्रल्हाद बुढाथोकी, डीआर पौडेलकी जीवन संगिनी गंगा बेलबासे, पत्रकार जनार्दन पोखरेल, समाजसेवी भविन्द्र अधिकारी, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका जनार्दन जोशी लगायतले डीआर पौडेलसँगको सहकार्यको स्मरण प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad