राजनीति


निर्दलीय चरित्रका व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा समस्या: जनमोर्चा महासचिव भट्ट

निर्दलीय चरित्रका व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा समस्या: जनमोर्चा महासचिव भट्ट

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १९:४४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको चरित्र निर्दलीय भएको बताएका छन्।

बहुदलीय व्यवस्थामा निर्दलीय व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा समस्या आएको भट्टको भनाई छ। 

शाहलाई प्रधानमन्त्री बनाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र बहुदलीय रहेको भन्दै बहुदलीय चरित्रको दलले निर्दलीय चरित्रको व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा रास्वपाले समेत समस्या भोगिरहेको उनले बताए। 

‘वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह स्वतन्त्र रुपमा उठेर काठमाडौँको मेयर जितेका हुन्। उनलाई दलसँग कुनै सरोकार र लगाव छैन’ भट्टले भने, ‘यस्ता व्यक्तिलाई बहुदलीय चरित्र भएको रास्वपाले प्रधानमन्त्री बनाएर आफैँ समस्यमा परेको छ। उनी न दलको बैठकमा सहभागी हुन्छन् न त, सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन नै तदारुकता देखाउँछन्।’

भट्ट जनमोर्चा निकट जातीय समता समाज र अखिल नेपाल महिला संघले आयोजना गरेको ‘दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रियामा बोल्दै थिए।

सो क्रममा उनले पार्टीको तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्दै संविधान संशोधनको प्रक्रियामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला र दलित समुदायका लागि छुट्टै ‘आरक्षित निर्वाचन क्षेत्र’ निर्धारण गर्नुपर्ने जिकिर गरे। 

सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’ लाई सो प्रस्ताव बुझाइएको उल्लेख गर्दै उनले संविधानमा रहेका कमजोरी सुधार्न र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न यो प्रस्ताव अनिवार्य रहेको बताए।

जनमोर्चाले चक्रीय प्रणालीका आधारमा यस्ता निर्वाचन क्षेत्रहरू परिवर्तन गरिरहनुपर्ने सुझाव दिएको छ।

महासचिव भट्टद्वारा प्रस्तुत अवधारणापत्रमा हालको मिश्रित निर्वाचन प्रणालीलाई कायमै राख्दै प्रत्यक्षतर्फ निश्चित क्षेत्रहरू महिला र दलितका लागि मात्र आरक्षित गरिनुपर्ने उल्लेख छ। यस्तो व्यवस्थाले महिला र दलितलाई आफ्नै समूहभित्र प्रतिस्पर्धा गर्ने वातावरण बनाउने र नीति निर्माणको तहमा उनीहरूको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने दाबी गरिएको छ। 

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, जनमोर्चा उपाध्यक्ष तथा पूर्वसांसद दुर्गा पौडेल, अखिल नेपाल महिला संघकी अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य मीना पुन, समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद तुलप्रसाद (राजेश) विश्वकर्मा, जनपक्षीय महिला सङ्गठनकी संयोजक इन्द्रा अधिकारी, अखिल नेपाल महिला सङ्गठनकी अध्यक्ष तथा पूर्व सभासद दाना शर्मालगायतले धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad