ad ad

राजनीति


संसद् विघटनविरुद्ध सडक संघर्ष गर्ने कि नगर्ने? कांग्रेसमा देउवा र पौडलको फरक धारणा

संसद् विघटनविरुद्ध सडक संघर्ष गर्ने कि नगर्ने? कांग्रेसमा देउवा र पौडलको फरक धारणा

नेपालखबर
पुस ८, २०७७ बुधबार १:५,

संसद विघटनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र मत भिन्नता देखिएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विषयलाई लिएर फरक फरक धारण राखेका हुन्।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक आज (बुधबार) पुनः बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ। केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पुनः बस्न लागेको हो।

मंगलबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकमा उठेका विषयबस्तुका विषयमा जानकारी गराएका थिए।

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध कार्यक्रम तय गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनस्थापनाको माग गर्दै सडक आन्दोलनमा जाने कि नजाने भन्नेमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मतभेद देखिएको छ।

बैठक स्रोतका अनुसार देउवा प्रधानमन्त्री ओलीले गर्ने भनेको मध्यावधि निर्वाचनको पक्षमा देखिएका छन् भने पौडेल संसद पुनस्र्थापनाको पक्षमा देखिएका छन्। मंगलबारको बैठकमा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई गोलबद्ध गर्दै कांग्रेसले सडक संघर्षको नेतृत्व गनुपर्नेमा जोड दिएका छन्।

‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई वर्तमान सरकारले घाइते बनाइएकाले ओलीको कदमलाई स्वीकार गर्नुनहुने धारणा पौडेलले राख्नुभयो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘संसद विघटनाको विपक्षमा रहेका सबै राजनीतिक दललाई गोलबद्ध गरेर हामीले संघर्ष गर्नुपर्छ भन्नेमा उहाँको जोड थियो।’

बैठकमा देउवा निकट मानिने केन्द्रीय सदस्य एनपी साउदले भने सरकारले घोषणा गरेको चुनावको अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। ‘साउदले संसद पुनस्थापनाको माग गरेर सडक संघर्षमा जानु नहुनेमा जोड दिनुभयो,’ ती केन्द्रीय सदस्यले भने।

बैठकमा बोल्दै केन्द्रीय सदस्य नारायण खड्काले संसद विघटनको विषय अदालतमा पुगेकाले अदालतले के भन्छ त्यो निर्णयलाई पर्खनुपर्ने बताए। अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पमा जान सकिने उनको भनाई थियो।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले भने संसद विघटन विरुद्ध सडक संघर्षको विकल्प नभएकोमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .