राजनीति


मसाल महामन्त्री सिंहको टिप्पणी : संसद विघटनले गणतन्त्रमाथि खतरा बढ्यो

मसाल महामन्त्री सिंहको टिप्पणी : संसद विघटनले गणतन्त्रमाथि खतरा बढ्यो

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:२५,

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषय अवैधानिक भएको भन्दै तत्काल पुनरस्थापना गर्न माग गरे।

उनले भने, ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं। हाम्रो माग छ संसदको पुनर्स्थापना गर्नुपर्छ।’

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्‍यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए।

उनले भने, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्न। देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ।’

महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन्।

तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृष्किोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताए।

पार्टी भित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भीर स्थिति सिर्जना भएको टिप्पणी समेत गरे। नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको समेत बताए।

उनले भने, ‘देशमा राजावादीहरु सडकमा आइराखेका छन्, राजतन्त्रको पुनरस्थापना, हिन्दु राष्ट्र बनाउनको लागि। गणतन्त्रलाई कमजोर पार्नुपर्छ भनेर राजावादीहरु सक्रियता बढाइरखेका छन्। गणतन्त्रका पक्षधर शक्तिहरु आपसमा लडिरहेका छन्। यसले गर्दा गणतन्त्रको पक्ष निकम्मा हुन्छ। यिनको बिचको एकता खाली पार्टीको एकता मात्रै होइन, उनीहरुको बिचको झगडा मात्रै होइन। यो सम्पूर्ण देशको राजनीतिमा नराम्रो असर पार्छ भनेर हामीले भनेका थियौं। अहिले त्यो प्रष्ट भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .