नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन्।
संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो। सो निर्णयलाई निर्वाचन आयोग पुगेर जानकारी गराइएको पाखरेलले जानकारी दिए।
‘अध्यक्ष केपी ओलीलाई कारबाही गर्न स्थायी कमिटीले निर्णय गरिसकेको र त्यसलाई अनुमोदन केन्द्रीय समित बैठकले गर्ने जानकारी निर्वाचन आयोगलाई गराउनुपर्छ। किनभने, आयोगले स्थायी कमिटी चिन्दैन। केन्द्रीय कमिटीमात्रै चिन्ने भएकोले सो बारेको जानकारी गराएर आएका छौँ’, पोखरेलले नेपालखबरसँग भने, ‘आयोगलाई बुझाइएको पत्रमा उहाँलाई कारबाही गरिनुका सबै कारण समेत खुलाइएको छ।’

प्रतिक्रिया