नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले संसद विघटन पछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ।
सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले संविधानविद् एवं कानुनविद्सँग छलफल गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेसँगै आगामी संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्सँग छलफल गरिएको हो। नेकपाले संसद विघटनलाई गैर संंवैधानिक भन्दै यस कदमलाई सम्पूर्ण रुपमा अस्वीकार गरेको यसअघि नै जनाइसकेको छ।
छलफलमा संविधानविद् एवं कानुनविद्हरुले प्रधानमन्त्रीले असंंवैधानिक कदम चालेका र यसरी संसद विघटन हुन नसक्ने धारणा राखेका छलफलमा सहभागि राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले बताए।
सांसद बिडारीले सांसदहरुले अझै सांसदको लोगो लगाउने, राष्ट्रपति समक्ष संसद अधिवेशन बोलाउन माग गर्ने र अधिवेशन नबोलाईए अरु रणनीतिमा जाने पनि बताए।
छलफलमा संविधान एवं कानुनविद्हरु शम्भु थापा, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया