प्रतिनिधिसभा विघटन गराइएपछि उत्पन्न देशको राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ।
संसद् भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सोमबार दिउँसो ४ बजे सानेपास्थित पार्टी कार्यालयमा सर्वदलीय बैठक राख्ने तयारी भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेकी हुन्।
यसअघिदेखि नै ओली सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले संसद् भंग गरिएको दिन आइतबार पनि काठमाडौंमा विरोध सभा गरेको थियो।
यस्तै आइतबारै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समजावादी पार्टीले प्रधानमन्त्री ओलीकाे कदम असंवैधानिक ठहर गर्दै सामूहिक प्रतिवाद गर्ने घाेषणा गरिसकेका छन्।
आइतबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रधानमन्त्रीकाे कदमविरुद्ध सबै प्रकारका संघर्ष गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया