ad ad

राजनीति


७७ वटै जिल्लामा प्रदर्शनः कांग्रेसले उठायो यी तीन विषय

७७ वटै जिल्लामा प्रदर्शनः कांग्रेसले उठायो यी तीन विषय

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १३:१९,

नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

बिभिन्न जिल्लाका सभामा सम्बोधनका लागि खटिएका नेताले केपी शर्मा ओलीको सरकारमा भएका भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारको असफलता, नेकपाको आन्तरिक द्वन्द्व र त्यसका कारण राजतन्त्रको पक्षमा सडकमा भएको प्रदर्शन लगायतका विषयमा आफ्ना भाषणहरु केन्द्रित गरेका थिए।

कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सांसद गगन थापासम्मले यिनै विषयहरुमा विशेष जोड दिएका थिए।

कांग्रेसको सरकारविरोधी प्रदर्शनमा नेकपा अध्यक्ष प्रचण्डको प्रतिवेदनको चर्चा अर्को उल्लेखनीय पक्ष थियो।

प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार भइरहेको र सरकारको असफलताका कारण राजावादीहरु व्यवस्थाविरुद्ध नै सडक प्रदर्शनमा उठेको भन्दै कांग्रेस नेताहरुले ओलीप्रति नै बढि आक्रोश व्यक्त गरेका थिए।

Deuba massrally

ओलीकै कारण राजतन्त्रको पक्षमा नारा लाग्यो
मकवानपुरको हेटौैंडामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट आजित भएका जनता ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको भन्दै भाषणको बढि समय ओलीको आलोचनामा खर्चेका थिए।

कोरोना महामारीका बेला कम्युनिष्ट सरकारले केही नगरेपछि मानिसहरु विकल्पको रुपमा ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको उनको भनाइ छ।

‘यी तत्वलाई राजा आऊ भन्ने हिम्मत आउँदैनथ्यो, ओली सरकारबाट जनता आजित भएको हुँदा त्यसो भन्ने आँट गरेका हुन्,’ देउवाले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सडकमा गणतन्त्र विरुद्धको नारा लाग्नुमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार जिम्मेवार रहेको अरोप लगाए।

काठमाडौंको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले सडकमा राजतन्त्रको पक्षमा नारा लागेको छ, यसप्रति जिम्मेवार सरकार नै हो, सरकारकै कारण यस्ता नारा लागेका छन्’, पौडेलले भने, ‘राजा ल्याउन खोज्नेहरुले कस्तो किसिमको राजा ल्याउन खोजेको ? कोतपर्व, भण्डारखाल पर्व मच्चाउने कि, सत्र साल ल्याउने कि माओवादी जन्माएर प्रजातन्त्रको हत्या गर्ने राजा?’

कैलालीको धनगढीमा भएको विरोध प्रदर्शनमा सम्बोधन गरेका गगन थापाले विगतमा जनताका अधिकार खोस्ने राजाले कसरी जनतालाई बचाउन सक्छन् भन्दै प्रश्न गरे।

‘हिजो पञ्चायतकालमा हाम्रा मुर्ती बेचेर खाने पन्चेहरुले अहिले राजा ल्याउनको लागि गरेको प्रदर्शनलाई सही मान्न नहुने बताए। हिजो पञ्चायतकालमा मन्दिरको मुर्ती चोर्नेहरुले हाम्रो धर्म र संस्कृति जोगाउँछन्?’ उनले प्रश्न गरे।

Gagan Dhangadhi Sabha

प्रचण्डको प्रतिवेदनको चर्चा
बिभिन्न ठाउँमा भएका विरोध सभामा बोल्ने अधिकांश केन्द्रीय नेताले प्रधानमन्त्री ओली भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

उनीहरुले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै सचिवालयमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई आधार बनाएर बोलेका थिए।

कांग्रेसका वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टाचार गरेको ओलीकै पार्टीका नेताहरुले प्रतिवेदनमै उल्लेख गरेको बताए।

‘नेकपाका बहुमत सचिवालय सदस्यले भनेको मात्र होइन लिखित प्रतिवेदनमै छ,’ पौडेलले भने।

उनले एम्नेष्टिको प्रतिवेदनले पनि अहिलेको सरकारको पालामा भ्रष्टाचार बढेको देखाएको बताए।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा कात्तिक २८ गते पेस गरेको १९ पृष्ठको राजनीतिक प्रस्तावमा आफ्नै अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका थिए।

सो प्रतिवेदनलाई आजको विरोध प्रदर्शनमा नपाली कांग्रेसले राम्रो एजेण्डाका रुपमा प्रचार ग¥यो।

महामारीका बेला झन् बढि भ्रष्टाचार
सभापति देउवाले जनता कोरोनाका कारण खान समेत नपाएका बेला सरकारले महामारीलाई नै भ्रष्टाचार गर्ने मौकाको रुपमा प्रयोग गरेको बताए।

उनले कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि निःशर्त सहयोग गरेको तर सरकारले भने यस्तो महामारीमा पनि घुस खाने, भ्रष्टाचार गर्ने काम गरेको उनको दाबी थियो।

‘हामीले कोरोना नियन्त्रणका लागि आफ्नो आधा तलब, दसैं भत्ता दियौं, तर कम्युनिष्टहरुले यहि बेलामा घुस खाने, भ्रष्टाचार गर्ने काम गरे,’ उनले भने।

सांसद गगन थापाले पनि प्रधानमन्त्रीप्रति तीव्र आक्रोश व्यक्त गरे।

‘संसदमा दुईतिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ प्रदेशमध्ये ६ वटा प्रदेश जितेको नेकपाको नालायक सरकार मुर्दावाद,’ उनले सभामै आक्रोश पोखे।

उनले यो सरकारका मानिसहरुले बाहिर भ्रष्टाचार गर्दिन भन्ने तर बाइडबडी जहाज खरिद, सेक्युरिटी प्रेस खरिद आदिमा ठूला भ्रष्टाचार गरेको बताए।

‘बालुवाटार जग्गा समेत खर्लप्प खान्छ। त्यतिमात्र होइन बजेट भाषणअघि अहिलेसम्म नभएको व्यापारीलाई बोलाएर राजस्वको दर तलमाथि गर्छु भनेर पोस्ने काम गर्छ,’ थापाको दाबी थियो। 

नेता थापाले यिनै एजेण्डा लिएर अब निर्वाचनमा गएर यसको हिसावकिताब खोज्ने पनि बताए।

‘गणतन्त्रविरुद्ध सडक प्रदर्शन गर्ने होइन,’ थापाले राजतन्त्रका पक्षमा उत्रेकाहरुलाई सम्बोधन गर्दै भने, ‘अब निर्वाचनमा गएर यसको हिसावकिता खोज्ने हो।’

कांग्रेसका उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, डा. रामशरण महत चितवन, महामन्त्री शशांक कोइराला मोरङ, डा. प्रकाशशरण महत झापा, विश्वप्रकाश शर्मा हेटौंडा, गुरु घिमिरे खोटाङ, प्रदीप पौडेल कञ्चनपुरमा सम्बोधन गर्न पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .